धादिङ– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले प्रदान गर्दै आएको आयुर्वेद सेवाको विषयमा अन्तरक्रिया गरिएको छ ।
मंगलबार धादिङबेशीमा एक कार्यक्रमको आयोजना गरि आयुर्वेद सेवा केन्द्रले प्रदान गर्दै आएको आयुर्वेद सेवाको विषयमा जानकारी गराईएको हो । आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले नियमति रुपमा विरामी जाँच, नियमित ल्याव सेवा, २३ प्रकारका औषधिहरुको निशुल्क वितरण, लगायतका सेवाहरु प्रदान गर्दै आएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका प्रमुख डा.स्वीरा जोशीले बताए ।
आयुर्वेद स्वास्थ्य केन्द्रले विद्यालय योग तथा आयुर्वेद शिक्षा कार्यक्रम, महिला स्वयंसेवीकाहरुलाई आयुर्वेद सम्बन्धी सचेतनामुलक कार्यक्रम, स्थानीय जनप्रतिनिधीहरुसँग वार्षिक समिक्षा गोष्ठी, वर्षमा एक पटक निशुल्क शिविर लगाएतका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
विशेष गरि प्रचारप्रसारको कमी हुँदा आयुर्वेद सेवा केन्द्रले प्रदान गर्दै आएको सेवाको बारेमा अझै पनि नागरिकहरुलाई जानकारी नभएको जोशीको भनाई छ । तर पछिल्लो समयमा भने आयुर्वेद सेवा प्रति नागरिकहरुमा सकारात्मक परिवर्तन आएको हुँदा दैनिक रुपमा ३० देखि ३५ जना विरामीहरु सेवा लिन आउने गरेका छन् ।
अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले धादिङको सबै स्थानीय तहमा आयुर्वेद सेवा पुर्याउन जरुरी रहेको बताउदै संचार माध्यमबाट आम नागरिकहरुलाई जानकारी गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।