८ साउन, धादिङ – नेपाल बन्दका क्रममा दुईवटा सवारी साधनलाई विप्लव नेतृत्वको नेकपा माओवादीका बन्दकर्ताले आज बिहान आगजनी गरेका छन् ।
उनीहरुले पृथ्वी राजमार्गअन्तर्गत भूमेस्थान गाविस–४ कोइरालेमा बा ४ ख ८७८७ नं को १० चक्के ट्रक आगजनी गरेका हुन् । बन्दकर्ताले मोटरसाइकलले बाटो छेकेर आगजनी गरेपछि प्रहरीले एकजनालाई गिरफ्तार गरेको छ । यसैगरी, कालुपाण्डे मार्गको नलाङ गाविस–६ डुम्रेखोलामा ना १० प १८४५ नंको मोटरसाइकल पनि आगजनी गरिएको प्रहरीले जनाएको छ ।
बन्दका कारण सदरमुकाम र आसपासका सम्पूर्ण विद्यालय बन्द हुँदा विद्यार्थी विद्यालय पुगेर घर फर्किएका छन् । सवारी साधन नपाएर यात्रु हिँडेर यात्रा गरिरहेका छन् । रासस