शंकर श्रेष्ठ, धादिङ
धादिङमा रहेका दुई प्रतिनिधिसभा र चार प्रदेशसभाबाट केही नयाँ र केही पुरानै अनुहारले यो पटक संसदमा प्रवेश पाएको छ । धादिङ क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनकै बलमा चुनाव जितेका नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेको संसद प्रवेश यो छैटौं पटक हो । उनले यसअघि स्थानीय विकास मन्त्रालय हाकिसकेका छन् भने अहिले बागमती प्रदेश सरकारको मुख्यमन्त्री चलाइरहेका छन् ।
समानुपातिकमा पाएको मत परिणामलाई हेर्दा यो क्षेत्रमा चर्चा पाएजस्तो एकिकृत समाजवादीको हैसियत देखिदैन । तर पनि पाण्डेको गर्जन भने निकै महत्वकांक्षी छ । यो क्षेत्रबाट सांसदमा विजयी समाजवादीका उपाध्यक्ष पाण्डे भन्छन्–‘जम्मा हामीले १९ सिटमा उम्मेदवार उठाएका थियौं, १० सिटमा प्रतिनिधिसभा सदस्य सानदार मतले विजय प्राप्त गरेका छौं । त्यो शक्तिलाई संसद र सरकार चलाउने महत्वपूर्ण शक्तिको रुपमा काम गरेर देखाउँछौं ।’
गठबन्धनको साझा उम्मेदवार बनेर पाण्डेले पाएको मतको करिव १७ प्रतिशत मत मात्रै समाजवादीले यो क्षेत्रबाट समानुपातिकमा पाएको छ । प्रत्यक्षमा ३५ हजार नौ सय ३५ मत पाएको यो क्षेत्रमा समानुपातिकतर्फ भने ६ हजार ३५ भोट मात्रै पाएको छ ।
धादिङ क्षेत्र नम्बर १ कै प्रदेशसभा २ बाट चुनाव जितेका शालिकराम जम्कट्टेलको संसद प्रवेश पनि यो तेश्रो पटक हो । २०६४ को माओवादी लहड चल्दा धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएर प्रतिनिधिसभा छिरेका जम्कट्टेल २०७४ मा प्रदेश क्षेत्रबाट निर्वाचित भएर बागमती प्रदेश सरकारको मन्त्री बने । शुरुमा आन्तरिक मामिला तथा कानून मन्त्री बनेका उनी अहिलेपनि आर्थिक मामिला तथा योजना मन्त्री छन् ।
अहिले पनि प्रदेशसभालाई बलियो बनाउन उनको भुमिका कस्तो रहला भन्ने कौतुहलता मतदातामा छ । ‘प्रदेशसभालाई बलियो बनाउने पहिलो मेरो भुमिका हुन्छ । त्यसपछि समृद्ध बागमती प्रदेश बनाउन आफ्नो भुमिका महत्वपूर्ण रहनेमा विश्वस्त रहनुहोस्’, जम्कट्टेलले भने ।
कसरी आयो एमालेको किल्लामा कांग्रेस ?
धादिङ क्षेत्र नम्बर १ प्रदेशसभा १ मा विजयी नेपाली कांग्रेसका युवा नेता मदुकुमार श्रेष्ठले संसदीय जिम्मेवारी पाएको पहिलो पटक हो । २०७४ को निर्वाचनमा राजेन्द्र पाण्डेसँग प्रदेशसभामा पराजित भएका श्रेष्ठ यो पटक पाण्डेकै सहयोगमा प्रदेश संसदमा पाइला टेक्दैछन् । यस क्षेत्रमा कांग्रेसले पाइला टेकेको इतिहासमै पहिलो पटक पनि हो ।
नेकपा एमालेभित्रको किचलो र टकरावले श्रेष्ठलाई संसद छिर्ने बाटो सहज बन्यो । एमालेका आधिकारिक उम्मेदवारलाई हराउन एमालेकै बागी उम्मेदवारले चार हजार छ सय ८८ मत काटिदिएपछि १२ सय ९४ मतले श्रेष्ठलाई संसद प्रवेश गर्ने बाटो खुलेको छ । गठबन्धनमै रहेर पनि जसोतसो संसद छिरेका श्रेष्ठ नीतिगत भ्रष्टाचार अन्त्य गराउने र मतदाताको जनअपेक्षा पुरा गराउने हरदम लागिपर्ने र आफ्नो हैसियत देखाउने सोचमा छन् । भन्छन्–‘अहिलेको अवस्थामा देश नै प्रष्टाचार र घुखोरीले आक्रान्त छ, त्यसको अन्त्य गर्ने र मतदाताको जनअपेक्षा पुुरा गराउन रहदम लागिरहनेछु ।’
धादिङ–२ मा कांग्रेसको उदय
नेपाली कांग्रेसले धादिङ क्षेत्र नम्बर २ मा पनि गठबन्धनकै भरमा २३ वर्षपछिको विराशत फर्काएको छ । पटक पटक गरी २० वर्ष धादिङ कांग्रेसको नेतृत्व गरेका रामनाथ अधिकारी दोश्रो पटक प्रतिनिधिसभामा प्रवेश गर्दैछन् । गठबन्धनकै बलमा भएपनि २०५४ साल पछिको विराशत फर्काउने पनि उनै अधिकारी हुन् ।
रामनाथ अधिकारीले नै २०५४ साल पछि अहिले प्रतिनिधिसभाको निर्वाचनमा जित हात पारेका हुन् । अघिल्ला निर्वाचनहरुमा कम्यूनिष्टहरुसँग पराजय भोगेका अधिकारी यस पटक भने माओवादी केन्द्र र एकिकृत समाजवादीको साथले प्रतिनिधि सभा पुग्ने मौका पाएका छन् ।
धादिङ क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा १ मा विजयी कांग्रेसका गोविन्द लम्साल निर्वाचन अघिसम्म त्यति चर्चामा थिएनन् । लम्साल नेपाली कांग्रेसका पुराना नेता भएपनि संसदीय निर्वाचनमा अवसर नपाएका नेता हुन् । लम्सालले यस पटक प्रदेशसभाका लागि अप्रत्यासति रुपमा टिकट पाए र नेकपा एमालेका चर्चित उम्मेदवार डाक्टर रामकुमार अधिकारीलाई पराजीत गर्न सफल भए । यसको श्रेय पनि गठबन्धनलाई नै जान्छ ।
संसदमा पहिलो पटक पाइला टेक्दै गरेका लम्सालसंग आम मतदाताको आशा र भरोसा ठूलो छ । सधै संसद बाहिरैबाट विरोध समर्थन गर्दै आएका उनी आफु अरुले भन्दा नयाँ ढंगबाट प्रस्तुत हुने र संसद भित्रदेखि नै विकृति निर्मूल पार्ने सोचमा छन् ।
फेरी फैलियो राप्रपा
धादिङको दुइ वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा मध्ये क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा २ मा भने गठबन्धनलाई राप्रपाका डम्बर तामाङले चक्मा दिए । गठबन्धनबाट साझा उम्मेदवार बनेका पूर्व सांसद एवम् नेकपा माओवादी केन्द्रका जगत सिंखडालाई एमालेको सहयोगमै भएपनि तामाङले हारको स्वाद चखाए ।
प्रतिस्पर्धी नै छैन भन्ने सिंखडालाई पराजित गराउदै २३ वर्ष पछि तामाङले प्रदेशसभामै भएपनि राप्रपाको विरासत फर्काए । २०७४ को निर्वाचन यहि प्रदेशमा आमने सामने भएका सिंखडा र तामाङ यस पटक पनि प्रतिस्पर्धी बने र तामाङले बाजी उल्ट्याए । यद्यपी आफ्नो गृह क्षेत्रमा बुथ कब्जा गरेर चुनाव जितेको आरोप उनीमाथि लागेको छ, तर यसको पुष्ट्याई गर्ने आधार केहि छैन । धादिङको उत्तरी भेगमा पर्ने यो क्षेत्र राप्रपाले सधै आफ्नो पकट इलाका मान्दै आएपनि निर्वाचन जित्न सकेको थिएन । निर्वाचनमा झिनो मतान्तरमा विजय भएका तामाङ विकटमा पर्ने यो क्षेत्रको विकास अब आफ्नो जिम्मामा रहेको दाबी गर्छन् ।
जो जसरी जसको बलमा संसदमा पुगेपनि मतदाता भने यो पटक उत्साहित देखिंदैनन् तर पनि आफुले मत दिएर संसदमा पुगेकाहरुले यसअघिकाले जस्तो झुक्याउने छैनन् भन्नेमा विश्वस्तदेखिन्छन् । संसदमा पुगेपछि उनीहरुले आफ्नै मात्र स्वार्थ पुरा गर्नेछैनन् र विकासमा विभेद गर्ने छैनन् भन्नेमा मतदाता आशावादी छन् । मतदाताकै जनभावना बुझ्नेछन् र साना ठूला सबै खालका विकास योजनाहरु चुस्त ढंगबाट अघि बढाओस् भन्ने चाहाना मतदाताको छ ।
आफ्नै इलाकामा किन चिप्लिए जगत ?
धादिङको दुई वटै प्रतिनिधिसभा र तीन वटा प्रदेशसभामा विजयी गठबन्धनले एउटा प्रदेशमा भने फेल खायो । धादिङ क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका जगत सिंखडा नमज्जाले चिप्लिए । जगतले आफ्नो पकड इलाका मान्दै आएको प्रदेशमा सियो बनेर छिरेका राप्रपा एमालेको तालमेलका उम्मेदवार राप्रपाका डम्बर तामाङले जगतको जजगीलाई सिध्याइदिए । अब यो प्रदेशमा राप्रपाले नै राज गर्ने देखिन्छ । किनकी पूर्व गृहमन्त्री बुद्धिमान तामाङले दुई दशक अघिदेखि राज गर्दै आएको यो प्रदेशमा २०७४ मा माओवादीका जगत सिंखडाले तितरवितर पारेको थियो ।
गठबन्धन दलहरुको सहयोग हुँदाहुँदै पनि जगत सिंखडा चिप्लिनुको पछाडी थुप्रै शंका उपशंकाहरु भेटिन्छन् । कतिपयले सिंखडाको स्वभाव बढि महत्वाकांक्षी रहेको र सहयोगीसंग समन्वय गर्न नसकेको बताएका छन् त कतिले प्रतिस्पर्धी डम्वर तामाङले उनको गृह क्षेत्रमा बुथ कव्जा गरेको आरोप पनि लगाइरहेका छन् । गठवन्धनको सहयोगी दल नेपाली कांग्रेसले केहि स्थानमा धोका दिएको र सिंखडाको आफ्नै गृह क्षेत्रका मतदाता असन्तुष्ट भएकाले पराजीत हुन परेको भन्नेको संख्या पनि उत्तिकै छ । नेपाली कांग्रेसका केहि युवाहरुको प्रतिकृया हेर्दा पनि केहि ठाउँमा कांग्रेसको सहयोग नपाएको पुष्टि गर्दछ । युवाहरुले सामाजिक सञ्जालमै लेखेका स्टाटसले पनि सिंखडाले चुनाव हार्नुमा असन्तुष्ट युवाहरुको हात रहेको देखिन्छ ।
राजनीतिक दलहरुले मतदातासँग जेजे माग गरे पनि र आफ्नो विजयको पक्षमा जेजे दाबी गरे पनि अन्ततः सार्वभौम मतदाताले आफ्नो फैसला सुनाएका छन् । काठमाडौ, चितवन लगायत ठूला सहर भएका क्षेत्रहरुमा जस्तै मत निकाल्न नसकेपनि ठूला भनिएका र पुराना मानिएका पार्टीहरुप्रति मतदाताले आक्रोस र व्यग्रता पनि देखाइदिएका छन् ।