Thu. Nov 28th, 2024

प्रदेशसभामा जगत सिंखडाले हार्नुको कारण पत्ता लगाउनुपर्नेमा पाण्डेको जोड

धादिङ – धादिङ क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा २ मा सत्ता गठबन्धनका उम्मेदवारले पराजय भोग्नुको कारण छानविन गर्नुपर्ने नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवं् धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राजेन्द्र प्रसाद पाण्डेले बताएका छन् ।

नेपाली कांग्रेस १ नम्बर क्षेत्रीय समितिले गजुरीमा आयोजना गरेको प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धनबाट निर्वाचित सदस्यहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै पाण्डेले गठबन्धनमा रहेका उम्मेदवारले हार्नुको कारण पत्ता लगाउन आवश्यक रहेको बताएका हुन् ।

धादिङमा रहेका चार वडा प्रदेशसभा मध्य गठबन्धनले एक सिट गुमाउनु परेको छ । पराजित हुनुको कारण पत्ता लगाउन छानविन जरुरी छ । ‘उम्मेदवारको आफ्नै कमजोरी, पार्टीका कार्यकर्ताको कमजोरी वा गठबन्धनमा समस्या उत्पन्न भएका कारण के हो पत्ता लगाउनु पर्छ’, पाण्डेले भने– ‘छानविनको परिणामबाट आगामी दिनको कार्यक्रम तयार गर्न र आगामी दिनको सहयात्रा कायम राख्न पनि छानविन गर्नैपर्छ ।’ छानविनले आगामी दिनको सहयात्रा कायम राख्न सहज हुने बताए ।

धादिङ–२ को प्रदेशसभा २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका जगत बहादुर सिंहडाले नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार रहेका राप्रपाका डम्बर तामाङसँग एक सय ३१ मतले पराजित भएका छन् ।

धादिङ–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका जिल्ला सभापति रामनाथ अधिकारीले निर्वाचनको परिणामप्रति आफु सन्तुष्ट नरहेको बताएका छन् । अधिकारीले भने– ‘गठबन्धन दल मध्यकै धादिङ जिल्लाको संयोजक भएको नाताले म व्यक्तिगत रुपमा सन्तुष्ट छैन, स्थानीय तह निर्वाचन र मंसिर ४ गतेको दुबै निर्वाचनमा आंसिक सन्तुष्टी मात्रै लियौं, पूर्ण सन्तुष्टि लिन पाएनौं ।’

धादिङ–२ अन्तर्गत प्रदेशसभा २ मा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका जगत सिंखडाले हार व्यहोर्नुको कारण पत्ता लगाउन आवश्यक रहेको अधिकारीले बताए ।

About The Author

अन्य समाचारहरु: