Thu. Nov 28th, 2024

धनबहादुर घलेको इन्ट्रीले एमालेमा रौनक

धादिङ– प्रदेशसभाको टिकट आफ्नै पार्टीको नेतृत्वको खासेको भन्दै सामाजिक संजाल मार्फत पार्टी परित्यागको घोषणा गरेका नेकपा एमाले धादिङका उपाध्यक्ष एवं् पूर्व सांसद धनबहादुर घले मतदानको दिन नजिकिदै गर्दा एमालेकै प्रचारमा हिड्न थालेका छन् ।

धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेशसभा ‘ख’ मा पार्टीबाटै आधिकारिक टिकट लिएर मनोनयन दर्ता गराएका घलले एमाले–राप्रपा तालमेलको क्रममा आफ्नो टिकट खोसिएको भन्दै पार्टीबाट बिच्किएका घले शुक्रबारसम्म पार्टीको कुनैपनि गतिविधिमा संलग्न थिएनन् ।

आफ्नो उम्मेदवारी खोसिएपछि एमाले छाडेको घोषणा नै गरेका थिए । नेकपा एमाले गंगाजमुना काठमाडौं सम्पर्क मञ्चको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा बोल्दै घलेले पार्टीका नेता, आफ्ना शुभचिन्तक र समकक्षीहरुसँगकै सल्लाहमा एमालेभित्रै रहेर अघि बढ्ने निर्णय गरेको बताए ।

आफ्ना नेता र कार्यकर्ताको अनुरोधलाई हार्न सकिन, उहाँहरुकै अनुरोध र सल्लाह मानेर प्रचारमा निस्किएको छु’, घलेले भने–‘नेकपा एमाले र एमालेका उम्मेदवारलाई जिताउनु मेरो कर्तव्य हो, सबै समर्थक साथीहरुलाई एकजुट भएर एमाले र राप्रपाको तालमेलका उम्मेदवारलाई जिताउन म आग्रह गर्दछु ।’

उत्तरी धादिङका जनतामाझ प्रभावशाली नेता घले प्रचारमा निस्किएपछि एमालेमा पनि केही उत्साह थपिएको छ । घले निष्कृय रहँदा निराश बनेका एमाले राप्रपा तालमेलका उम्मेदवार अहिले तातिएर मतदाताको घरदैलो पुगिरहेका छन् ।

गुठी पीडितलाई लालपुर्जा दिलाउछु ः लोहनी
धादिङ क्षेत्र नम्बर २ प्रतिनिधि सभाका नेकपा एमाले उम्मेदवार खेम लोहनीले शनिबार धादिङको ज्यामरुङ, कटुञ्जेका श्री ५ को बायुगुठी पीडितहरुलाई लालपुर्जा दिनका लागि आफू प्रतिवद्ध रहेको बताएका छन् ।

ज्यामरुङमा बायुगुठी पीडितहरुले आयोजना गरेको कायृक्रममा श्री ५ हटेर हराइसकेको अवस्थामा जनताले दुख पाएको र गुठीको नाममा पीडित भएको अवस्थामा नितिगत रुपमा निर्णय गराउन आफैँ लाग्ने प्रतिवद्धता जनाए । एमाले संधैँ जनताको पक्षमा रहेकोले यसअघि पनि आफू जनताको पक्षमा लागेर समस्या समाधानका लागि पहल गरेको स्मरण गर्दै आफूलाई जनताले एमालेलाई साथ दिन आग्रह गरे ।

धादिङ क्षेत्र नम्बर २ ‘ख’ का राप्रपाका उम्मेदवार डम्बर तामाङले समेत एमालेसंग साथमा मिलेर आफूले गुठी पीडितको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

विपक्षीलाई घुँडा टेकाउछु ः अधिकारी
नेकपा एमाले धादिङ क्षेत्र नं २ प्रदेश सभा (क) का उम्मेदवार डा.रामकुमार अधिकारीले आफु निर्वाचित भए ५ बर्षमा कामका कारण विपक्षीहरुलाई घुँडा टेकाउने बताए ।

शुक्रबार धादिङबेशी स्थित नेकपा एमाले धादिङको पार्टी कार्यालय मदन आश्रित भवनमा प्रदेश सभा निर्वाचन क्षेत्रका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उम्मेदवार डा.अधिकारीले निर्वाचित भएपछि विकास र समृद्धिका कामगरेर देखाउने बताए ।

गत बैशाखमा सम्पन्न स्थानिय तह निर्वाचनमा धादिङमा एमालेले हार व्यहोरेको भन्दै अधिकारीले प्रतिनिधि र प्रदेशमा एमालेलाई जिताए अब आउने स्थानिय तह निर्वाचनमा अन्य पार्टीलाई घुँडा टेकाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । गठबन्धनको आश्वासनमा नपरी ढुक्क भएर एमालेका उम्मेदवारलाई मतदान गर्न मतदाताहरुलाई आग्रह गरे ।

About The Author

अन्य समाचारहरु: