धादिङ– प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन निर्वाचन नजिकिएसँगै दलहरु घरदैलो अभियानमा व्यस्त बनेका छन् ।
धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी यतिबेला रुबिभ्यालीका विकट बस्तीहरुमा घरदैलो सकेर खनियाबासतर्फ लागेका छन् भने नेकपा एमालेका उम्मेदवार खेम प्रसाद लोहनी सदरमुकाम आसपासका गाउँबस्तीमा घरदैलो गरिरहेका छन् ।
उत्तरी क्षेत्रको विकट बस्तीहरुमा घरदैलो सकेर खनियाबास प्रवेश गरेका काँग्रेसका उम्मेदवार अधिकारी आफूले रुविभ्यालीबासीको विश्वास पाएर फर्किएको बताएका छन् । लोकतान्त्रिक गठबन्धनबाट मात्र देशको आर्थिक विकास सम्भव छ भन्नेमा जनताको विश्वास पाएको अधिकारीले बताए ।
रुविभ्याली विकासले निकै पछाडि परेको हुनाले त्यहाँको जनताको निराशालाई आशामा परिवर्तन गर्ने विश्वास आफूहरुमाथि रहेको अधिकारीको भनाइ छ । ज्वालामुखी, त्रिपुरासुन्दरी, गंगाजमुना र रुविभ्याली लगायतको घरदैलोले आफूलाई उत्साह थपेको बताउँदै अधिकारीले नेपाली काँग्रेस र गठबन्धन दलभित्र सबै नेता कार्यकर्ता एक भएर लागि परिरहेको बताए ।
अधिकारीसँगै घर दैलोमा रहेका गठबन्धनबाट प्रदेशसभा १ का साझा उम्मेद्वार एकीकृत नेकपा माओवादीका जगत सिँखडाले गाउँ टोलमा गठबन्धन उम्मेदवारको मात्रै चर्चा रहेको र जनताको विश्वास पनि गठबन्धन दलमा नै रहेको बताएका छन् ।
नेकपा एमालेले पनि घरदैलोमा जनताको राय लिइरहेको छ । मतदाता भेटघाटको क्रममा उम्मेदवार खेमप्रसाद लोहनीले गाउँको विकासमा एमालेको भुमिकाको कदर गरेर मत पाउने विश्वास व्यक्त गरेका छन् ।
धादिङ क्षेत्र नम्वर २ (२) को प्रदेशसभा सदस्यका उम्मेदवार डा.रामकुमार अधिकारीले स्थानियको विकासका लागि आफु पुनःप्रदेशसभामा उम्मेदवार भएको बताएका छन् । मंगलवार नीलकण्ठ नगरपालिका वडा नं ७, ८ र ९ मा भएको चुनावी कार्यक्रम तथा मतदाता भेटघाटका क्रममा डा.अधिकारीले यस्तो बताएका हुन् ।
अघिल्लो आफ्नो कार्यकालमा शुरु गरेका गाउँका विकास निर्माणका गतिविधिहरुलाई पुरा गराउने विश्वास दिलाए ।