
काठमाडौँ — संसद्ले अविश्वास प्रस्तावमार्फत् तत्कालीन प्रधानमन्त्री इमरान खानलाई गत अप्रिलमा सत्ताच्युत गरेयता इस्लामावादको राजनीतिक वातावरण धेरै नै प्रभावित बनेको छ । खानले अमेरिका र पाकिस्तानी सेनासँग मिलेर नयाँ सरकारले आफूलाई सत्ताच्युत गरेको निरन्तर आरोप लगाउँदै आएका छन् । खानले सरकारको राजीनामा माग गर्दै आयोजना गर्ने विरोध प्रदर्शनमाथि सरकारले दमन गर्ने गरेको छ ।
पाकिस्तानको निर्वाचन आयोगले गत शुक्रबार विदेशी अतिथिहरूले दिएको उपहार बेचेको विषयलाई नखुलाई ‘भ्रष्टाचारजन्य अभ्यास’ गरेको भन्दै खानलाई अयोग्य घोषणा गरेको छ । त्यसको दुई दिनपछि पाकिस्तानका एक प्रतिष्ठित पत्रकार अरसद सरिफको केन्याको नैरोबीमा हत्या भयो । यो दुवै घटनाले पाकिस्तानको राजनीतिलाई ध्रुवीकरण मात्रै गरेको छैन, तत्कालीन राजनीतिक परिस्थितिलाई अनिश्चयतर्फ धकेलेको छ ।
खानले पछिल्लो निर्णय आफूलाई राजनीतिबाट पाखा लगाउन गरिएको भन्दै त्यसलाई खारेज गरेका छन् भने राजनीतिक जिम्मेवारी लिन आयोग्य रहेको भन्दै गरिएको निर्णयमा अन्यौल देखिएको छ । इस्लमावाद उच्च अदालतका न्यायाधीशले खानमाथि गरेको फैसला संसद्को वर्तमान कार्यकालभर मात्रै लागू हुने बताएका छन् ।
संसद्को कार्यकाल आगामी वर्षायाममा सकिँदै छ । फैसलाको पूर्णपाठ अहिलेसम्म नआएकाले त्यसको स्पष्ट जवाफ आएको छैन । तर यो अयोग्यतासम्बन्धी निर्णय अर्को वर्ष पनि कायम रह्यो भने खानले चुनाव लड्न पाउने छैनन् ।
यो उथलपुथलको पृष्ठभूमिमा पत्रकार सरिफको हत्याले पूरै देशलाई स्तब्ध बनाएको छ । पाकिस्तानको शीर्षस्थानमा रहेका धेरै पाकिस्तानी पत्रकारजस्तै सरिफको पनि राजनीतिक झुकाव थियो । उनको इमरान खानसँग निकट सम्बन्ध थियो । खानलाई अपदस्थ नगरुन्जेलसम्म उनी पाकिस्तानी सेनाका समर्थक थिए ।
सामाजिक सञ्जालमा पाकिस्तानी सेनालाई आलोचना गरेको कारण गत अगस्टमा उनलाई ुएरी न्युजु बाट बर्खास्त गरिएको थियो । राज्यद्रोहको आरोपमा पक्राउ पुर्जी जारी गरिएपछि सरिफ देश छाडेर भागेका थिए ।
सामाजिक सञ्जाल, अन्तर्वार्ता र व्यक्तिगत कुराकानीमा धेरै पाकिस्तानी सरिफको हत्या पाकिस्तानी सैनिक संस्थापनद्वारा रचित कार्य भएको भन्दै शंका गर्छन् । विगतमा पनि पत्रकारहरूको हत्या गर्नका लागि दिएको आदेशलाई प्रमाणको रुपमा प्रस्तुत गर्छन् ।
यो परिस्थितिमा सरिफ हत्याको विषयको अस्पष्टता कायम छ । केन्याका अधिकारीले सरिफलाई अर्को ठानेर स्थानीय प्रहरीले गोली हानेको जनाएको छ । जबकी त्यहाँका पत्रकारहरू यसमा अन्य धेरै विषयहरू जोडिएको बताउँछन् ।