धादिङ – श्रीमानको मृत्यु भएपछि धादिङ जोगीमारा गाँउ विकास समितिको वडा नं २ जवाङका चन्द्रकुमारी चेपाङको परिवार विचल्लीमा परेको छ । घरमा खाने अन्न समेत नभएपछि चन्द्रकुमारीले आफूलाई सहयोग गर्न आग्रह गरेकी छिन् । खेती गर्ने जमिन छैन, घरमा खाने अन्न छैन, बालबच्चालाई खुसी बनाउने केहि पनि खानेकुरा छैन । मलिन अनुहारमा देखिएकी चन्द्रकुमारी आफ्ना पीडा यसरी पोख्छिन् । अहिले चेपाङ परिवारलाई आफु र आफ्नो परिवार धान्नका लागि कठिन भएको छ ।
तीस हजार ऋण लागेपछि तीन रोपनी जग्गा साहुलाई बुझाएर ८ वर्षसम्म ओडारमा बसेका सुमनसिंह चेपाङको मंगलबार मृत्यु भएपछि बालबच्चा र परिवार धान्ने जिम्मा उनको श्रीमती चन्द्रकुमारी चेपाङको काँधमा आएको छ । उनका ४ बालबच्चाहरुको पनि विचल्ली भएको छ । श्रीमान्को मृत्यु र बालबच्चाको विचल्लि भएको खबर आएपछि विभिन्न दाताहरुको सहयोग मिलेको छ ।
धादिङमा सञ्चालित विभिन्न संघसंस्थाहरुबाट ५ हजार ७ सय ४ रुपैया संकलन गरी खाद्य सामग्री प्रदान गरिएको छ । फाया नेपालबाट १ हजार ६ सय ४० रुपैया, सहयात्री समाज नेपाल धादिङबाट १ हजार ९ सय ६८ र सिड्स धादिङबाट २ हजार ९६ रुपैया तत्काल संकलन गरी त्यसको चामल, नुन, दाल, तेल, साबुन लगायतका खाद्य सामग्रीहरु किनेर जोगीमारा २ को जवाङखोलामा एक कार्यक्रमको आयोजना गरी बुधबार सामग्री वितरण गरिएको छ ।
त्यस्तै नेपाल रेडक्रस सोसाइटी धादिङबाट लत्ता, कपडा, आइसीडिसी धदिङले कम्मल र ब्लाङकेट, होटल जिविका एण्ड हुक्काबारले १ बोरा चामल, महाशक्ति भुजा उद्योगबाट १ बोरा भुजिया, पुष्पा स्टेशनरीबाट स्टेशनरीका सामानहरु, कारोबार दैनिकका धादिङ संवाददाता पत्रकार राजेन्द्र बस्नेतबाट १ बोरा चामल सहयोग गरिएको छ ।
ओडारमा बस्दै आएका चेपाङ परिवारलाई २०६९ साल पुस महिनामा विभिन्न दाताहरुको सहयोगमा पुर्नवास गराइएको थियो ।
पाविलन्युज अनलाइनद्धारा नगद सहयोग
साहुँको ऋण तिर्न नसक्दा आठवर्षसम्म ओडारमा बसेका सुमनसिंह चेपाङको मंगलबार मृत्यु भएपछि अनका परिवार विचल्लीमा परेका छन् ।
उनको किरीया खर्चका लागि पाविलन्युज डटकम अनलाइनले नगद दुई हजार रुपैया सहयोग गरेको छ । अनलाइनका अध्यक्ष नवराज छत्कुलीले सुमनसिंहका श्रीमती चन्द्रकुमारी चेपाङलाई बुधबार एक कार्यक्रमका बीच नगद हस्तान्तरण गरिएको हो । श्रीमान्को मृत्यु भएपछि उनका ४ जनाको बालबालिका समेत विचल्लीमा परेको छ । नगद पाएपछि चन्द्रकुमारीले खुसी व्यक्त गर्दै धन्यावाद दिइन् ।