धादिङ– धादिङका विरामीले डायलाइसिस् गराउन अब अन्यत्रका अस्पताल चाहर्नुपर्ने बाध्यता हटेको छ । धादिङ अस्पतालले शनिबारबाट डाइलाइसिस सेवा सुरु गरेसँगै डायलाइसिस गराउन काठमाडौ, पोखला, चितवनलगायत देशका ठूला शहर चाहार्नुपर्ने बाध्यता हटेको हो ।
बाग्मती प्रदेश सरकारको सहयोगमा धादिङ अस्पतालले चारवटा हेमोडायलाइसिस उपकरणसहित सेवा सुरु गरेको छ । विशेषज्ञ चिकित्सकको नियुक्ती नभइसकेकोले अहिले तालिमप्राप्त स्टाफनर्सले नै डायलाइसिस सेवा प्रदान गर्नेछन् । पहिलेदेखि डायलाइसिस गराइरहेका पुराना विरामीलाई मात्रै सेवा दिन सकिने छ । अस्पताल व्यवस्थापन समितिका डाक्टर महेन्द्र धमलाले भने–‘डायलाइसिस गराउनकै अब धादिङका बिरामीले अन्यत्र धाउनु पर्दैन ।’
कुनैपनि रोगका कारण चिट्नीमा असर परेका विरामीले डायलाइसिस गर्नुपर्छ । डायलाइसिस सेवा नहुँदाकाठमाडौका अस्पतालहरुमा रिफर गर्दै आएकोमा भएपनि अब त्यो समस्या हटेका स्वास्थ्यकर्मीहरु बताउँछन् । ‘हेमोडायलाईसिस र पेरिटोनल डायलाइसिस गरी मृगौला रोगीहरुलाई दुइ प्रकारले डायलाइसिस गर्ने गरिन्छ । धादिङ अस्पतालमा थालिएको हेमोडायलाईसिस हो’, डायलाइसिस सम्बन्धी तालिम लिएकी धादिङ अस्पतालकी स्टाफ नर्स अस्मिता भुसाल भनिन्–‘मधुमेह, उच्च रक्तचाप, फोक्सोको समस्या लगायतका रोगका कारण मृगौलामा समस्या देखिएका विरामीलाई धादिङ अस्पतालमा डायलाइसिस सेवा दिन सकिन्छ ।’
बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले डायलाइसिस सेवाको उद्घाटन गरेका हुन् । दक्ष र तालिमप्राप्त स्वास्थ्यकर्मीद्धारा गुणस्तरीय सेवा प्रदान गराउन मुख्यमन्त्री पाण्डेले अस्पताल व्यवस्थापन समितिलाई आग्रह गरेका छन् ।
धादिङ अस्पतालमा अहिले ५० वेड क्षमता छ । डायलाइसिस सेवा शुभारम्भमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा पनि धादिङ आइपुगेका थिए । धादिङको स्वास्थ्य क्षेत्रको विकास र सेवा विस्तारमा बाग्मती प्रदेश सरकार हातेमालो गर्न तयार रहेको मन्त्री लामाले बताए ।
गराउनकै लागि काठमाडौ लगायत अन्य ठूला शहर धाउनु पर्ने बाध्यताबाट विरामी र उनका आफन्तले मुक्ती पाउने भएका छन् । बढी खर्चिलो हुने र विरामीले विभिन्न समस्या भोग्नु परेका कारण उनीहरुलाई सहज बनाउन धादिङ अस्पतालमै डायलाइसिस सेवा शुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताए ।
एक पटकमा ४ जनाले डायलाइसिस सेवा लिन सक्नेछन् । सातामा दुई पटक डायलाइसिस गराउदा एक पटकमा करिब चार घण्टा लाग्ने भएकोले दैनिक ३ सिफ्टमा डायलोसिस सेवा दिन सकिने अस्पतालले जनाएको छ । पछिल्लो समय देशैभर मृगौला विरामीको संख्या बढ्दो छ ।