काठमाडौ – दुबईबाट खाद्यन्न सामग्री मुङको दाल भनेर ल्याइएको कन्टेनरमा विदेशी ब्रान्डका चुरोट बरामद भएको घटना प्रकरणमा भन्सार कार्यालयले आयातकर्ता कम्पनी कालिका इन्टरप्राइजेज प्रालिलाई रु १० करोड ७२ लाख जरिवाना तोकेको छ ।
दुबईबाट भारतसम्म पानी जहाजमा र भारतको कोलकोत्ताबाट रेलमार्ग हुँदै मुङको दाल भनेर सुक्खा बन्दरगाहमा वीरगञ्जसम्म ल्याइएको जीइएसयू ५०४८८०३४५ जी१ नम्बरको कन्टेनरमा गत जेठ १३ मा शङ्का लागि जाँच गर्दा उक्त ठूलो परिमाणमा विदेशी ब्रान्डको चुरोट फेला परेको थियो ।
दालको कन्टेनरभित्र चुरोट आयात गर्ने कम्पनी काठमाडौँ टोखाको कालिका इन्टरप्राइजेज प्रालिका सञ्चालक काठमाडौँ टोखाका नवराज गिरीलाई भन्सार ऐन अनुसार नक्कली मालसामान घोषणा गरेबापत बिगो जरिवाना रु रु १० करोड ७२ लाख जरिवाना तोकिएको भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष न्यौपानेले जानकारी दिनुभयो ।
कन्टेनर जाँच्दा २६ हजार छ सय दश किलो दाल घोषणा गरिएको कन्टेनरमा १४ हजार आठ सय २५ किलो मात्र दाल थियो । यसबाहेक ५८ लाख ३८ हजार चार सय खिल्लीका चार सय कार्टुन विदेशी चुरोट भएको फेला परेको थियो ।
उक्त बिगो जरिवाना बापतको रकम तिरेपछि सो कम्पनीले माल लैजान पाउने कार्यालयले जनाएको छ । अन्यथा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढ्नेछ । कार्यालयका अनुसार बन्दरगाह नाकामा विभिन्न मालसामान भित्र्याउने तीन वटा फरक–फरक रङ्को लेन हुन्छ । उक्त कन्टेनर पहेँलो लेनबाट आएको थियो ।