धादिङ– दुई बर्षदेखि एउटै ओछ्यानमा थलिएका गल्छी बैरेनीस्थित सातकिलोका जितबहादुर कामीलाई खाद्यान्न सहयोग गरिएको छ ।
धादिङबाट संचालन हुँदै आएको पाविल न्युज डटकमका टिमले सहयोग गरेका हुन् । चामल, दाल, तेलसहित नगद उपलब्ध गराएका हुन् । खाद्यान्न हस्तान्तरण गर्दै धादिङ मिडिया नेटवर्कका अध्यक्ष नवराज छत्कुलीले रिपोर्टिङका क्रममा कालीको घरमा पुग्दा उनीहरुको दुख देखेर आफ्नै खर्च कटाएर सहयोग गरिएको बताए ।
खाद्यान्न लिएर कामीको घर पुगेका नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले कामी दम्पतीको पीडामा मलहम लगाइदिन सबैसंग अपिल गरे । आज साउने संक्रान्तिको दिन खाद्यान्न लिएर पुगेका नेपाल टेलिभिजनका धादिङ संवाददाता शिव सिलवालले नगद एक हजार दिए ।
उमेरले ७९ बर्ष पुगेका जितबहादुरको कम्मरदेखि तलको भाग चल्दैन । लडेर ब्लकले चेपिदा दाहिने हात पनि भाँचिएको छ । उठेर बस्न सक्दैनन्
२ बर्ष अघि घरकै आगनबाट चिप्लिएर लडेर घाइते भएका थिए ।
उपचार गर्ने पैसा छैन । ३ छोरा थिए, जेठो र कान्छोले वास्ता गर्दैनन् । माइलो छोरा बितिसके । अहिले उनी माइलो छोराकै छोरा (नाति)को सरनमा छन् । नाती पनि सानै उमेरका छन् । कमाउन सक्दैनन् । जसोतसो नातीले नै उनीहरुको परान धानिदिएका छन् ।
बिरामी परेर थलिएपछिको २ बर्षदेखि कामी दम्पतीलाई कुनै चाडपर्वको रौनकले छोएको छैन । बिहान बेलुका हातमुख जोर्ने अन्न त छैन कसरी चाडपर्व मनाउनु ? जितबहादुरका श्रीमती देउमायाले पीडा सुनाइन् ।