धादिङ– गजुरी गाउँपालिका अध्यक्ष/उपाध्यक्षसहित सबै वडामा चुनाव हारेपछि नेकपा एमाले गजुरी गाउँ कमिटिका सहइन्चार्ज योगेन्द्र कुमार बस्नेतले पदबाट राजिनामा दिएका छन् ।
गत बैशाख ३० गते भएको स्थानिय तह निर्वाचनमा गजुरी गाउपालिकामा पार्टीको तर्फबाट एकजना पनि जनप्रतिनिधि निर्वाचित गराउन नसकेकोले नैतिक हिसावले पनि आफु पदमा बसिरहन उचित नहुने भन्दै बस्नेतले सामाजिक संजाल फेसबुक मार्फत राजिनामा दिएका हुन् । बस्नेत आफैले पनि वडा अध्यक्षमा चुनाव हारेका हुन् ।
सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्–‘एमालेको गढ भनेर चिनिने यो गाउपालिकामा कुनै पनि पदमा पार्टिका कमरेडहरुलाइ निर्बाचित गराउन नसकेकोमा दुखित हुँदै र आफुले पाएको जिम्मेवारी अनुसार काम गर्न नसकेको महसुस गर्दै जिल्ला कमिटी सदस्य एबम गजुरी गाउपालिकाको सहइन्चार्जको जिम्मेवारीमा भएकोले नैतिक जिम्मेवारी लिदै आजैका दिनदेखि लागु हुनेगरी पार्टीको सहइन्चार्ज पदबाट राजिनामा दिएको जानकारी गराउछु ।’
राजिनामा स्वीकृत गरि योग्य व्यक्तिलाई जिम्मेवारी तोक्न पनि उनले एमाले अध्यक्षसमक्ष अनुरोध गरेका छन् । बस्नेत जिल्ला कमिति धादिङका सदस्य पनि हुन् । ‘गजुरीको सहइन्चार्ज बाहेक बाकी जिम्मेवारी संगठन बिस्तारमा दत्त चित्त भएर लाग्ने प्रतिबद्दता व्यक्त गर्दछु’ उनको राजिनामा पत्रमा भनेका छन् ।