धादिङ- नीलकण्ठ नगरपालिका वडा नं ८ मा स्वतन्त्र उम्मेद्वारको प्यानल नै विजयी भएको छ ।
नेपाली काँग्रेस धादिङका प्रभावशाली नेता एवं नीलकण्ठ नगरपालिकाको निवर्तमान मेयर भीम प्रसाद ढुंगानाकै वडामा रुख चिन्हले लज्जास्पद हार बेहोरेको हो । ढुंगाना अहिले पनि काँग्रेसबाट मेयरका प्रत्यासी छन् ।
यद्यपि वडाको मतगणनाको नजिता हेर्दा वडा अध्यक्षमा मेयर ढुंगानाको समर्थन स्वतन्त्र उम्मेद्वारलार्इ नै रहेको प्रष्ट देखिएको छ ।
स्वतन्त्र उम्मेद्वारले पाएको मत भन्दा २ सय १६ बढी मत मेयरमा ढुंगानाले पाएका छन् । प्रकाशले ११ सय ५३ ल्याउदा मेयरमा ढुङ्गानाले १३ सय ३९ मत पाएका छन् । यो वडामा २२ सय ८८ मत खसेको थियो ।
स्वतन्त्र उम्मेद्वारको रुपमा यस अघि नेपाली काँग्रेसबाटै वडा सदस्य जितेका प्रकाशकुमार श्रेष्ठ वडा अध्यक्षका प्रत्यासी रहेका थिए । नेपाली काँग्रेसले पनि यस अघि वडा सदस्य नै रहेका रमेश कोइरालालाइ टिकट दिएको थियो ।
प्राप्त मत परिणाम अनुसार भुईकटहर चुनाव चिन्ह पाएका श्रेष्ठले ११ सय ५३ मत पाउँदा नेपाली कांग्रेसका आधिकारिक उम्मेद्वार रमेश कोइरालाले ३ सय ६३ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका उम्मेद्वार जीत बहादुर कुमालले ४ सय २ मत पाउदा माओवादी केन्द्रका बद्री सुवेदीले १ सय मत प्राप्त गरे । वडा सदस्यहरुमा वडा सदस्यहरुमा स्वतन्त्रबाट दुर्गा अधिकारीले ११ सय १८ मत, विमला बराइलीले ११ सय ४० मत, उमेश मगरले १ हजार ८५ मत र छविप्रसाद काप्री १ हजार १८ मत प्राप्त गरेका छन् ।
यस वडामा सधै एमालेलाइ दोब्बर भन्दा बढी मत अन्तरले पराजित गर्ने काँग्रेसले यस पटक एमालेलाइ पनि उछिन्न सकेन ।
पार्टी भित्रको आन्तरिक गुट र असतुष्टीका कारण नेपाली काँग्रेस ८ नम्वर वडाबाट पत्तासाफ भएको छ । यसले बर्तमान मेयरका प्रत्यासी समेत रहेका भीम प्रसाद ढुङ्गानालाइ र नेपाली काँग्रेसको नेतृत्वलाइ नैतिक रुपमा कमजोर बनाएको छ ।
नेपाली काँग्रेसको गढको रुपमा परिचित नीलकण्ठ नगरपालिका वडा नं ८ मा अर्को रोचक कुरा के छ भने वडाको सवै पदमा पार्टी भित्रको आन्तरिक विवादका कारण काँग्रेसले उम्मेद्वारी नै दिन सकेको थिएन । काँग्रेस पार्टीको तर्फबाट वडा अध्यक्षमा मात्रै उम्मेद्वारी दर्ता भएको थियो ।