Thu. Nov 28th, 2024

मनोनयन दर्ताको आज अन्तिम दिन, उम्मेदवार टुंग्याउने रस्साकस्सीमै दलहरु

धादिङ – आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्यको निर्वाचनका लागी मनोनयनको आज अन्तिम दिन हो। निर्वाचन आयोगले मनोनयनको लागि आइतबार र सोमबारको समय दिएपनि प्रमुख दलहरु आजसम्म पनि उम्मेदवार टुंग्याउने रस्साकस्सीमै छन् ।

पहिलो दिन धेरैजसो स्थानीय तहमा स्वतन्त्र र साना दलले मात्र उम्मेदवारी दर्ता गरेको छ । मुख्य ठूला दलहरुको उम्मेदवारी आइतबार परेको छैन। ठूला दलहरुका उम्मेदवारले मनोनयनको तयारी आज गरेका छन्। आइतबार सिद्दलेक गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले मात्रै मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले बताए ।

निर्वाचन आयोगले मनोनयनको समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको लागि तोकेको छ। मनोनयनको दोस्रो दिन बिहानसम्म ठूला दलहरुले उम्मेदवार टुंगो लगाइसकेका छैनन्। उम्मेदवारको टुंगो लगाउने अन्तिम कसरतमा दलहरु लागिरहेका छन्। धादिङमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेर उम्मेदवार उठाउदै छन् । नेकपा एमाले गठबन्धनसंग एक्लै चुनावी मैदानमा जाँदैछ ।

१३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने प्रमुख निर्वाचन अधिकृत ज्ञवालीले बताएका छन् ।

१५ वैशाखमा मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम आयोगको रहेको छ ।

About The Author

अन्य समाचारहरु: