Fri. Nov 29th, 2024

छात्रावासले धादिङका चेपाङ बालबालिकाको पढाईमा सहज


सरिता श्रेष्ठ : सुस्मि चेपाङ कालिका माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्छिन् । घर (दुङवाङ) देखि विद्यालय पुग्न उनलाई तीन घण्टा पैदल हिड्नुपर्छ । बिहान र बेलुका गरी दैनिक ६ घण्टा हिड्नुपर्दा भोक, थकाई लाग्थ्यो । त्यहि भएर बीचमै पढाई छाडिन् । विद्यालय पुग्न टाढा, जंगलको बाटो, उकालो ओरालो, भोकप्यास र थकाईले उनको पढाईमा ब्रेक लाग्यो । घरको काम, मेलापात, भाइबहिनीको स्याहारमा दुई वर्ष गुज्रियो तर पढ्न पाइनन् । बेनिघाट रोराङ गाउँपालिका वडा नं ८ विदाङमा कालिका छात्रावास निर्माण भएपश्चात उनको पढाईमा इट्टा थपियो । उनले पढाईलाई फेरि निरन्तरता दिइन् ।

१६ वर्षीय सुस्मीले कक्षा १ देखि ३ सम्म घर नजिकैको जलदेवी आधारभूत विद्यालय, ४ र ५ कक्षा एक घण्टा हिडेर गोठीभन्ज्याङ आधारभूत विद्यालयमा पढिन् । त्यसपछिको पढाई पूरा गर्न दुरी वाधक बन्यो । उनी भन्छिन्– ‘घरबाट बिहान ७ बजे हिड्दा मुस्किलले विद्यालय पुग्थ्यो, भोक, थकानले पढाईमा ध्यान नै जादैनथ्यो, बेलुका घर फर्कदा अध्याँरो हुन्थ्यो जंगलको बाटो हिड्नुपथ्यो त्यहि भएर दुई वर्ष पढ्नै गइन ।’ उनीसहित गाउँका अन्य बालबालिकाको कक्षा ६ देखिको पढाई रोकियो ।

सिमान्तकृत चेपाङ समुदाय बसोबास विकट बस्ती, आर्थिक अवस्था कमजोर भएकै कारण यहाँका अधिकांश बालबालिकाको माथिल्लो कक्षा पढ्ने धोको अधुरो हुन्छ । चेपाङ बालबालिकाका यस्तो समस्यापछि २०७३ मा विद्यालयमा छात्रावासको निर्माण भयो । छात्रावासको निर्माण पश्चात पढ्ने सपना पुरा भएको छ । सुस्मि तीनवर्ष अघिदेखि छात्रावासमा बसेर पढिरहेकी छन् । ‘दुईवर्ष पढाई रोकिएपछि अहिले छात्रावासमा बसेर पढ्न पाएकी छु, खुसी लागेको छ, बिदाको दिन घर जान्छु’, उनले भनिन् ।

उनका तीन बहिनी र एउटा भाई पनि छात्रावासमा बसेर पढिरहेका छन् । सविता चेपाङ (१५ वर्ष) कक्षा ८, अस्मिता चेपाङ (१३ वर्ष) कक्षा ७ र अन्जन चेपाङ (११ वर्ष) कक्षा ४ मा पढ्छन् । कान्छी बहिनी अनिषा चेपाङ (९ वर्ष) भने गाउँकै विद्यालयमा पढ्छिन् । उनका आमाबुबाले पढ्न पाएनन् । खेतीकिसानीमा दिनरात गुज्रिन्छ । मेहेनत गरेर लगाएको बालीले वर्षदिनभरी खान पुग्दैन । छात्रावासले उनको परिवार उज्यालिएको छ । छोराछोरीले पढ्न पाएका छन् ।

सुस्मिसँगै एउटै कक्षामा सविता चेपाङ पनि पढ्छिन् । विद्यालय टाढा भएपछि दुई वर्ष पढ्न नपाएपछि सविता पनि दिदीसँगै एउटै कक्षामा पढ्न पाइन् । छात्रावासले पढ्ने धोको पुरा भएको उनले बताइन् । सविता भन्छिन्, ‘छात्रावासले हामीजस्ता बालबालिकाको पढाईलाई निकै नै सहयोग मिलेको छ, छात्रावास नभएकोभए गाउँकै मेलापात, घरधन्दामै दिन बित्थ्यो होला ।’ सविता पढेर नर्स बन्न चाहन्छिन् । गाउँमा नजिकै विद्यालय, स्वास्थ्य चौकी निर्माण भएका छैनन्, सडकबाटो समेत बनेको छैन, पढेर गाउँको मुहार फेर्ने सपना सविताको छ ।

१५ वर्षीय नगरकुमारी चेपाङको पनि छात्रावासले मुहार फेरिएको छ । उनलाई झन् घाङवाङ घरदेखि विदाङको विद्यालय आउन चार घण्टा हिड्नुपथ्यो । कक्षा १ देखि ३ सम्म दुङवाङको जलदेवी आधारभूत विद्यालयमा पढिन् । जहाँपुग्न घरदेखि डेढ घण्टा उकालो ओरालो हिड्नु पथ्यो । जसोतसो तीन कक्षासम्मको पढाई पूरा गरिन् तर त्यसपछिको पढाई उनका लागि पनि दुरी बाधक बन्यो । उनले पनि त्यसपछिको माथिल्लो कक्षा पढ्न पाइनन् । पढाई छाडेको दुईवर्षपछि छात्रावासमा पढ्न पाइने भएपछि उनले पढाईलाई निरन्तरता दिए ।

छात्रावासमा बसेर पढ्न थालेको तीन वर्ष भइसकेको छ । कक्षा ४ देखि कालिका माविको छात्रावासमा बसेर पढेकी उनी अहिले कक्षा ६ को परीक्षा दिदै छिन् । बे्रक लागेको पढाईलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताउ“दै उनी भन्छिन्, ‘छात्रावास हाम्रो पढाईको एउटा ढोका हो, खम्बा हो ।’ छात्रावासमा बसेर पढ्न पाउँदा खुसी र घर छाड्नु पर्दा दुख लागेको उनले बताए ।

राक्सिसाङका १८ वर्षीय शरण चेपाङका लागि पनि छात्रावास पढाईको थलो बनेको छ । कक्षा ५ सम्मको पढाई गोठीभन्ज्याङ आधारभूत विद्यालयमा सकेका उनको त्यसपछिको पढाई छात्रावासमा बसेर पुरा हु“दै छ । ‘गाउँ वरपर त्यसपछिको पढाई हुने स्कुल थिएन, तीन घण्टा हिडेर विद्यालयमा आउन सम्भव थिएन, तर छात्रावासले पढाईलाई ब्रेक लागेन’, उनले भने । उनलाई घरबाट टाढिनुपर्दा सुरुमा गाह्रो भएको थियो । अहिले बिदाको दिन घर जाने गर्छन् ।

युएलएम वएस्ली फउण्डेसनको आर्थिक र प्राविधिक सहयोगमा संचालित छात्रावासमा १० जना छात्र र १३ जना छात्राहरु छन् । उनीहरु सबै चेपाङ समुदायका हुन् । निशुल्क रुपमा बस्ने व्यवस्था मिलाइएको छ । छात्र र छात्रालाई छुट्टाछुट्टै कोठा छ । विद्यार्थीहरु पालैपालो खाना बनाउँछन्, सरसफाई गर्छन् । विद्यालयले समेत बेलाबेलामामा निरीक्षण गर्ने गरेको विद्यालयका शिक्षिका सजना मैनालीले बताइन् । उनी भन्छिन् ‘विद्यालय नजिकै निर्माण भएको छात्रावासले चेपाङ बालबालिकालाई पढ्न सहज भएको छ, छात्रावासमा हामी शिक्षकहरुले बेलाबेलामा अवलोकन गरिरहेका हुन्छौ ।’ शिक्षा नियमावलीमा समेत दुरीका हिसाबले टाढा भएका विद्यार्थीलाई छात्रावास निर्माण गरिनुपर्ने उल्लेख छ तर टाढा टाढा भएका यस्ता विद्यार्थीहरुले पढ्न पाएका छैनन् ।

अधिकांश चेपाङ समुदाय बसोबास क्षेत्र बेनिघाट रोराङ गाउ“पालिकाको शंखादेबी उच्च माध्यमिक विद्यालयमा पालिकाको समन्वयमा प्रदेश सरकारले व्यवस्थित छात्रावास निर्माणको तयारी थालेको गाउ“पालिकाको शिक्षा शाखा प्रमुख बोधराज पाठकले बताए । उनले भने, ‘छात्रावासको निर्माण पश्चात सिमान्तकृत, दलित, आर्थिक अवस्था कमजोर भएका बालबालिकाको पढाईमा टेवा पुग्नेछ ।’

About The Author

अन्य समाचारहरु: