धादिङ– सोमबार केपी ओलीबाट खादा पहिरिएर एमाले प्रवेश गरेका धादिङको वेनिघाट रोराङ गाउँपालिकाका पित्त बहादुर डल्लाकोटी (हरि) पुन: मुल पार्टीमै फर्किएका छन् ।
समकक्षी नेता कार्यकर्ताको दवाबपछि एमाले प्रवेश गरेको चौविस घण्टा नबित्दै माओवादीमै फर्किएका हुन् । मंगलबार बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जम्कट्टेललाई हेटौंडामा भेटेर विज्ञप्ति मार्फत आफू माओवादीमा फर्किएको जानकारी गराएका छन् ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली निवास बालकोटमा पुगेर सोमबार एमालेमा प्रवेश गरेका थिए । यसअघि उनी नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटिको सदस्य समेत थिए ।
नेकपा माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एक मात्र अध्यक्ष हुन् । एमाले पृष्ठभूमिमा हुर्किएपनि द्वन्द्वको समयमा माओवादीमा लडेका डल्लाकोटी १५ वर्षदेखि निरन्तर माओवादीकै विभिन्न संगठनहरुमा सकृय थिए ।
पहिलो स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र माओवादी गठबन्धन गरेर डल्लाकोटी अध्यक्षमा बिजयी भएका थिए ।