धादिङ : नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले स्थानीय तह निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने बताएका छन् ।
नेकपा एमाले पार्टी कार्यालय धादिङबेसीमा प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता बादलले राष्ट्रियता, लोकतन्त्र, शुसासन र विकासको एजेण्डा बोकेर निर्वाचनमा होमिएको बताए । सबै स्थानीय तहमा एक्लै उम्मेदवार उठाएर जाने तयारी रहेपनि स्थानीय स्थिति हेरेर तालमेलको निर्णय लिन सकिने बताए ।
सिंगो देश निर्वाचनमा होमिएका छन्, राजनीतिक दल निर्वाचनमा सक्रिय छन्, यो परिस्थितिमा देश र जनताको रक्षाका लागि पनि सोच्नुपर्ने बताए । उनले भने, ‘देशको राष्ट्रियता जोखिममा परेको छ, लोकतन्त्र धरापमा छ, देशको आर्थिक स्थिति डामाडोल छ, अर्थविद्को भनाई अनुसार देश असफल उन्मुख छ, यस प्रकारको परिस्थितिमा नेकपा एमालेले देशको नेतृत्व दिनुपर्छ, परिस्थितिलाई सामान्य बनाउन एमालेको नेतृत्व आवश्यक छ ।’