धादिङ– राष्ट्रिय युवा संघ नेपालका संयोजक एवं् नेकपा एमालेका केन्द्रिय सदस्य किरण पौडेलले स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा एमालेका विरोधी विपक्षीहरु एक कदम पछाडि परिसकेको बताएका छन् ।
राष्ट्रिय युवा संघ धादिङको ८ औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादीलगायत ठूला मानिएका दलहरु एमालेसँग नतमस्तक बनिसकेको बताएका हुन् । ‘आफुलाई बाघ घोषणा गर्ने माओवादीलाई सडकमा तानेर बिरालोको हैसियतमा ल्याउने भनेको युवा संघ हो’ पौडेलले भने–‘आजको माओवादी रस निकालेर फालिएको कागती जस्तै भएको छ ।’
नेपाली कांग्रेसको नीति नै नक्कली भएकोले एमालेलाई नक्कली राष्ट्रवादको आरोप लगाइरहेको उनले बताए । जबसम्म देशमा नेपाली कांग्रेसको सत्ता रहिरहन्छ नेपालको राष्ट्रियता जोगाउन कठिन हुने भन्दै उनले जनतालाई सत्य र तथ्यको आधारमा बुझाएर चुनावको प्रचारमा लाग्न युवाहरुलाई आग्रह गरे ।
‘धादिङको गुण्डागर्दी र अराजकतालाई तह लगाउन युवा संघले मात्रै सक्छ । अब धादिङका युवा संघमा आवद्ध युवामाथि कसैले प्रहार गर्न खोज्छ भने उनीहरुलाई नै धुलोपिठो बनाउन सक्ने, अस्पताल भर्ना गराउन सक्ने शक्ति युवा संघसँग छ’ उनले भने ।
प्रत्येक वडा र वस्तीहरुमा गीत नाचसहित प्रचारमा लाग्न आग्रह उनले युवा संघमा आवद्ध युवाहरुलाई आग्रह गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल धादिङले शनिबार नै नयाँ नेतृत्व चयन गर्नेछ ।