धादिङ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड र माधव नेपाल निर्वाचन सार्ने षड्यन्त्रमा रहेको बताएका छन् । निर्वाचन सार्न दैनिक रुपमा प्रधानमन्त्रीलाई दवाव दिइरहेको पोखरेलले बताए ।
‘माओवादी केन्द्र र माधव नेपाल पक्ष चुनावका लागि तयार छैनन्, उनीहरु निर्वाचन सार्ने अनेकन प्रकारका हतकण्डा प्रयोग गर्न खोजिएको छ’ पोखरेलले भने–‘तर हामी खबरदारी गर्न चाहन्छौं ।’
बैशाख ३० मा हुने निर्वाचनमा कुनै पार्टीसँग एकता नहुने पनि उनले बताएका छन् । अघिल्लो निर्वाचनमा एमालेको बैशाखी टेकेर चुनाव जितेका दल र व्यक्तिहरुले अब फेरी त्यस्तो सपना नदेख्न पोखरेलले भनेका छन् । नेकपा एमाले धादिङले धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले भने– ‘औकाल छ भने चुनावमा आउनुस्, अब नेकपा एमालेको बैशाखी टेकेर चुनाव जित्छु भन्ने सपना नदेख्नुस्’
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले धोका दिएको उनले आरोप लगाएका छन् । ‘पहिला एउटै चुनावी घोषणा पत्रमा चुनाव लडेका थियौं, धोका दिएर कांग्रेसका पक्षमा जानेलाई फेरी जिताइदिनुपर्ने जिम्मेवारी बोकेका छैनौं’ पोखरेलले भने–‘एक पटक कम्तीमा प्रचण्ड र मावध नेपाललाई बाहिर राखेर चुनाव लड्न चाहन्छौं ।’
प्रचण्ड र माधव नेपाल नेपाली कांग्रेसका सभापति एवं् प्रधानमन्त्री शेरबहादुर देउवाको सहयोगी मात्रै बनेको बताए । समाजवादको बाटोतर्फ देशलाई डो¥याउन चाहनेहरु एमालेमा र पुँजीवादतर्फ हिड्न चाहनेहरु देउवातिर देखिएको पनि उनले आरोप लगाए ।
‘कांग्रेसको नेतृत्वको बाटोमा हिँड्नेहरु कसरी कम्युनिष्ट ? कसरी समाजवादी हुन्छ ? उहाँहरुले रोजेको बाटो देउवाजीको बाटो हो’ समाजवाद र पुँजीबाद दुई वटा बाटो मध्य एउटा बाटो जनताले रोज्नेछ’ पोखरेलले भने । अब नेकपा एमालेले गठबन्धन गरेर होइन एकल रुपमा नेकपा एमालेलाई बहुमत प्रदान गर्नेगरी तीनै तहको चुनावमा जनताको बीचमा जाने महासचिव पोखलेलले जिकिर गरे ।