काठमाडौ– सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक भएका छन् । बुधबार एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत भएका हुन् ।
सत्ता साझेदार दल माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले संशोधन बिना एमसीसी पारित हुन नसक्ने निर्णय गरेको थियो । जबरजस्ती एमसीसी टेबुल गरिए सरकारबाटै बाहिरिने माओवादीले निष्कर्ष निकालेसँगै प्रधानमन्त्री देउवा ब्याक भएका हुन् ।
संसदीय दलको बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । बालुवाटार पुगेर प्रचण्डले संशोधन बिना अहिलेको अवस्थामा एमसीसीका अघि नबढाउन तथा बढाइए सरकारबाट बाहिरिने सम्मको पार्टीको निर्णय सुनाएका थिए ।