धादिङ– नेकपा एमाले धादिङको ८औं अधिवेशनमा सौराहाकै छायाँ देखिएको छ । केपी ओलीले सौराहामा केन्द्रिय कमिटि घोषणा गरेकै शैलीमा एमाले धादिङले जिल्ला कमिटि घोषणा गरेको छ ।
२ दिनदेखिको रस्साकस्सीपछि केन्द्रिय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रिय सदस्य खेम लोहनीले ओलीकै शैलीमा कमिटि घोषणा गरेका हुन् । घोषित कमिटिको अध्यक्षमा भुमी त्रिपाठी, उपाध्यक्षमा धनबहादुर घले, सचिवमा अर्जुन कुमार श्रेष्ठ ‘गोर्खाली’, उपसचिवमा हरिराम लोहनी र राधिका सापकोटा छन् ।
त्रिपाठी निर्विकल्प अध्यक्ष चुनिए । उनी निवर्तमान अध्यक्ष पनि हुन् । अध्यक्ष बाहेक अन्य पदाधिकारी र सदस्यहरुले आफ्ना दावेदार उम्मेदवारसँग भेटेर छलफल समेत गर्न पाएनन् ।
उपाध्यक्षमा उम्मेदवारी दिएका उमेश कुमार थापालाई सदस्यमा एड्जस्ट गराइएको छ भने उपाध्यक्षका अर्का उम्मेदवार गंगादेवी श्रेष्ठ कमिटिमै परेका छैनन् । उपसचिवमा नाम परेका लोहनीले सचिवमा उम्मेदवारी दिएका थिए ।
जिल्ला कमिटिमा पुग्न धेरैले आशा देखाएपनि निर्वाचन नहुँदा उनीहरुको आशा निराशामा परिणत भएको छ । लोकतान्त्रिक पद्दतिबाट नेतृत्व चयनको माग गर्दागर्दै जबरजस्त नाम घोषणा गरिएको असन्तुष्ट उम्मेदवारहरुले गुनासो गरेका छन् ।
निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिएकाहरुसँग सल्लाह समेत नगरी नेतृत्वले एकतर्फी रुपमा कमिटि घोषणा गरेको आरोप लगाएका छन् । निर्वाचन भएको भए आफुहरु विजयी हुने उम्मेदवारी दिनेहरुको दावी छ ।
५ जना पदाधिकारीसहित नयाँ जिल्ला समिटिमा एक सयजना सदस्य छन् ।
अध्यक्ष पदमा निर्विकल्प त्रिपाठीको एकल उम्मेदवारी परेपनि बाँकी पदका लागि १२ जनासम्म उम्मेदवार थिए । उम्मेदवारले आफ्नो नाम के आधारमा काटियो समेत पत्तो पाएका छैनन् ।
ओली शैलीकै कारण उम्मेदवारी दर्ता भएको दिन शनिबार मतदानका कुनै कारवाही अगाडि बढेन । उम्मेदवारी परेकाहरुबाट आइतबार अपहन्न नाम घोषणा गर्दै महाधिवेशन सम्पन्न भएको घोषणा भयो ।
तर, कार्यकर्ता तथा अधिवेशन प्रतिनिधिलाई अनिर्णयको बन्धि बनाएर प्रतिनिधिकाे भावना बिपरित कमिटी घोषणा भएको भन्दै केही प्रतिनिधिहरुले सामाजिक संजालमै कटाक्ष गरेका छन् । प्रतिनिधि ध्रुव अधिकारीले एकजना नेताको नामै तोकेर फेसबुकमा लेखेका छन्, ‘चापलुसि र दुईचार जना झुन्डकाे कुरामा पाटि बर्वाद नगर्नु हाेला । तिम्रा टिके प्रथाले दिएकाे सदस्य म स्विकार नगर्ने घाेषणा गर्दछु ।’
युवा नेता राजन भण्डारीले पनि सामाजिक संजालमा आफ्नो आक्रोश पोखेका छन् । उनले फेसबुक मार्फत भनेका छन्, ‘सधै झै आफ्ना आफन्त र चाप्लुसि गर्नेहरुलाई पद दिनु छ भने किन कार्यकर्तालाई जम्मा गरेर जात्रा गर्छौ?चुनाव गरेर जनता र कार्यकर्ता को रोजाइको मान्छे राख्दैनौ भने अधिवेशन के का लागि ? आफ्नै घरबाट घोषणा गरिदिए भइहाल्छ.. पैसा, पावर र पहुँच हुने, जसले आफ्नो जिल्लाको भुभाग र कार्यकर्तालाई समेत चिन्दैन त्यस्तैलाई अघि बढाउनु नै छ भने हामी जस्ता कार्यकर्ताको के काम ?’