काठमाडौ – माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट आज केन्द्रीय समिति चयनको प्रक्रिया शुरू हुने भएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल र त्यसको निष्कर्ष प्रस्तुतिमा दुई दिन लागेपछि महाधिवेशन लम्बिएको छ। ११ गते सुरु भएको महाधिवेशन १५ गते सक्ने निर्णय भएको थियो।
बन्दसत्रमा अध्यक्ष प्रचण्डले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले विधानको मस्यौदा प्रस्तुत गरेका थिए।
राजनीतिक प्रतिवेदनमाथि २४ समूहमा छलफल भएर निष्कर्ष आइसकेको छ। अध्यक्ष दाहालले आज प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिनेछन्। त्यससँगै राजनीतिक प्रतिवेदन पारित हुनेछ।
त्यसपछि महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य गुरुङले प्रस्तुत गरेको विधानको मस्यौदा पारित गर्ने कार्यक्रम छ। अनि, त्यही विधानमा आधारित भएर केन्द्रीय समिति चयनका लागि निर्वाचन आयोगले प्रक्रिया शुरू गर्नेछ।
आज केन्द्रीय समिति चयनका लागि निर्वाचन प्रक्रिया शुरू हुने माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ जानकारी दिए। उनका अनुसार, हलबाट नयाँ विधान पारित भएसँगै निर्वाचन प्रक्रिया शुरू हुनेछ।
अब माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ। त्यसमा १५ पदाधिकारी हुनेछन्।