काठमाडौं– नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ । १० औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि कार्यविभाजन गरिएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा दिइएको छ । उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन गर्ने र अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन गर्ने जिम्मा दिइएको छ ।
अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मा पाएका छन् । महासचिव शंकर पोखरेलले सांगठनिक कामको संयोजन गर्ने जिम्मा पाउँदा उपाध्यक्ष विष्णु पौडेलले सांगठनिक कामको अनुगमन गर्ने जिम्मा पाएका छन् ।
उपमहासचिव प्रदीप ज्ञवालीले स्कुल विभाग पाउँदा पृथ्वीसुब्बा गुरुङले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मा पाएका छन् ।
अर्का उपमहासचिव विष्णु रिमाललाई निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापन प्रमुख बनाइएको छ । स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई भने अर्थ तथा योजना विभागको प्रमुख बनाइएको छ ।
सचिव टोपबहादुर रायमाझीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख, गोकर्ण विष्टलाई ऊर्जा, योगेश भट्टराईलाई स्वास्थ्य विभाग प्रमुख र अर्का सचिव लेखराज भट्टराई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ ।
स्थायी कमिटी सदस्य मणि थापाले भूमि व्यवस्था विभागको जिम्मा पाएका छन् ।