
एजेन्सी –
जापानले मंगलबारदेखि विदेशी यात्रुलाई आफ्नो देशमा प्रवेश गर्न नदिने भएको छ।
सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था गर्न लागिएको प्रधानमन्त्री फुमियो किशिदाले सोमबार जानकारी दिए। ओमिक्रोनको महामारी देशभित्र प्रवेश नगरोस् भन्ने उद्देश्यले उक्त निषेध गर्न लागिएको हो।
“हामीले विश्वका कुनै पनि देशबाट आउनेलाई रोक लगाउन लागेका छौँ”‚ उनले भने।
जापानमा यसअघि पनि महामारीलाई न्यूनीकरण गर्न भन्दै अधिकांश नाका बन्द गरिएको थियो भने विदेशबाट आउनेलाई परीक्षणमा कडाइ गरिएको थियो।
तर गत नोभेम्बरको सुरुदेखि विदेशबाट आउनेलाई प्रवेशमा खुकुलो बनाइएको थियो। नयाँ खुकुलो व्यवस्थाका आधारमा व्यवसायी, विदेशी विद्यार्थी र जापानको भिसा भएकालाई प्रवेश गर्न दिइएको थियो।
जापानले गत शुक्रबार नै अफ्रिकी ६ मुलुकबाट जापान आउनेलाई कम्तीमा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको थियो।
यस्तो नियम अन्य देशबाट आउनेलाई पनि बढाउँदै लगिने किशिदाले जानकारी दिए। ‘कोरोना भाइरसको महामारीविरुद्ध जापान सधैँ कठोर रूपमा उभिएकै हो, अहिले ओमिक्रोनविरुद्ध पनि उत्तिकै उभिनेछ’‚ प्रधानमन्त्री किशिदाले भने।
उनले नयाँ भाइरसबाट जोगिन पनि मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, भिडभाड नगर्ने र प्रतिबन्धात्मक व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।