चितवन- नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने नै भएको छ । भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
सौराहामा जारी दशौं महाधिवेशनको बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गरेका थिए । मध्यरातमा शुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे छलफल गरेका थिए । उनले अध्यक्ष मण्डलमै रहेका रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव समेत गरेका थिए । तर रावलले उनको प्रस्तावलाई अस्वीकार गरे ।
विहान ८ बजेबाट निर्वाचन प्रक्रिया सुरु भएको छ ।
पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९:२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ । कार्यतालिका अनुसार बिहान १२ : ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरू हुनेछ।
एमालेमा केन्द्रीय समितिदेखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा केपी ओलीलाई दिइएको थियो। अध्यक्ष ओलीले आइतबार राति प्रस्तावित पदाधिकारी र केन्द्रीय कमिटीको नाम पेश गरेका थिए । उनले १९ पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए।
विगतको केन्द्रीय कमिटीका अधिकांशलाई समेट्दै ओलीले केन्द्रीय सदस्य थप गरेका हुन्। यद्यपि केन्द्रीय सदस्यमा निर्वाचित हुनका लागि निर्वाचनको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
एमालेका १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी हुने व्यवस्था छ।