
एजेन्सी –
यूएईमा जारी आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा आज नेपालले मलेसियाको सामना गर्दैछ।
अर्को चरणमा पुग्ने सम्भावना जीवितै राख्न नेपालले मलेसियाविरूद्ध जित निकाल्नैपर्ने बाध्यता छ। यदि मलेसियाविरूद्ध पराजित भए शीर्ष स्थानमा रहेर अर्को चरणमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त हुनेछ।
नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजेदेखि सुरु हुनेछ ।
हालसम्म नेपालले मलेसियाविरूद्ध दुई अन्तर्राष्ट्रिय खेल खेलेको छ । दुबै खेलमा नेपालले मलेसियालाई हराएको छ ।
यी दुई टिमले एक अर्काविरुद्ध २०१९ मा टी–२० म्याच खेलेका थिए। जसअन्तर्गत पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले मलेसियाविरुद्ध ३४ रनको जित निकालेको थियो ।
लगभग छनोटबाट बाहिरिएको मलेसियाले आइसिसी टी–२० विश्वकप एसिया छनोटमा तीन खेलमध्ये २ खेले हारेको छ।
यता नेपालले तीन खेलमा दुई जित र एक हारसहित तालिकामा ४ अंक जोडेर दोस्रो स्थानमा छ।
नेपालले प्रतियोगितामा दोस्रो जित हात पार्ने क्रममा बिहिबार कुवेतमाथि ९ विकेटको फराकिलो जित निकाल्यो। त्यसअघि नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको थियो। पहिलो खेलमा भने हङकङसँग ६ विकेटले पराजित भएको थियो।
अब नेपालले आइतबार लिगको अन्तिम खेलमा युएईसँग खेल्नेछ। यदि आज र आइतबार दुबै खेलमा जित हात पारे नेपाल विश्व छनोटमा पुग्नेछ।