१५ असार, धादिङ – सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ उच्च माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा एसएलसी २०७१ मिा उत्तीर्ण हुन सफल विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
विद्यालय प्राङ्गणमा मंगलबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । विद्यालयबाट उत्कृष्ट अंक ल्याउन सफल १ सय ८३ जना विद्यार्थीलाई मायाको चिनो तथा फुल मालाले सम्मान गरिएको विद्यालयका प्रधानाध्यपक बाबुराम अधिकारीले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षका होमनाथ रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रम जिल्ला शिक्षा अधिकारी गणेश प्रसाद ढकाल, नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारी, विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो । सामुदायिक विद्यालय तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै कार्यक्रममा उपस्थित सबैले खुसी व्यस्त गरेका थिए ।
नीलकण्ठ उच्च माध्यमिक विद्यालयले यस वर्ष ८९ दशमलव २७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । यस वर्ष २ सय ५ जना विद्यार्थीहरुले परीक्षा दिएकोमा १ सय ८३ जना उत्तीर्ण भएका छन् । त्यस मध्ये ८ जना विशिष्ट श्रेणीमा पास भएका छन् ।