धादिङ– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफुले बोकेका कुरालाई गलत अर्थ लगाएर विवाद सुरु गर्न खोजेको बताएका छन् ।
कात्तिक १३ गते गृह जिल्ला धादिङमा कार्यकर्तालाई निर्देशन दिने क्रममा पार्टीको कमिटी नभएको ठाउँमा बजेट नै दिन्न भन्नुको गलत अर्थ लगाइएको बताए । सरकारले पठाएका योजनाहरुमा स्थानीय सहभागिता बढाउन र छिटो सक्न सहयोग गर्न कार्यकर्तालाई आफूले आह्वान गरेको कुरालाई बङ्ग्याएर गलत प्रचार गर्दै विपक्षी दल नेकपा एमालेले विवाद सुरु गर्न खोजेकोप्रति मुख्यमन्त्री पाण्डेले दुख व्यक्त गरेका छन् ।
बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका बागमती प्रदेश प्रमुख सचेतक दिपक निरौलाले सोमबार बसेको प्रदेशसभामा मुख्यमन्त्रीले धादिङमा बोलेको कुराले आम नागरिकको मौलिक हकको हनन् भएको आरोप लगाएपछि पाण्डेले दुःख व्यक्त गर्दै आफ्नो धारण स्पष्ट पारेका हुन् ।
‘सबै स्थानीय तहमा आफ्नो कार्यकालमा ठुला अपूरा हुने योजनाहरु पठाउँदिन, तत्काल रिजल्ट आउने खालको योजना मात्रै दिन्छु भन्ने अर्थमा बोलेको हुँ’ मुख्यमन्त्री पाण्डेले स्पष्ट पारेका छन् । साना योजना पनि समयमा सम्पन्न गर्न नसक्नेलाई किन योजना चाहियो भनेर आफूले भन्न खोजेको तर आफ्नो कुरालाई बङ्ग्याएर प्रस्तुत गरिएको उनको भनाइ छ ।
‘आफ्नै सरकारले पठाएको बजेटको सदुपयोग गर्न नसक्ने वडा कमिटीहरु काम लाग्दैन । वडा कमिटीले सक्रिय रुपमा विकास निर्माणको काममा सहभागी हुनुपर्छ । सोही अनुसार सरकारले बजेट दिन्छ’ भन्न खोजिएको उनले प्रष्ट पारे । आफ्नो सरकारको सफलताका लागि आफ्नो पार्टी र संगठन परिचालन गर्न खोजेको कुराको केही भागमात्र बाहिर ल्याएर विवाद सुरु गर्न खोजेको उनले बताए ।
हरेक वडामा भएका विकास निर्माणका कामहरुको अनुगमन गर्ने, गुणस्तरको विषयमा रिपोर्टिङ्ग गर्ने, विकास आयोजनाको अवस्थाबारे जानकारी गराउने र जनप्रतिनिधिहरुको कार्यसम्पादनको अवस्थाबारे सरकारलाई जानकारी गराउनको लागि सक्रिय भूमिका खेल्न वडा कमिटीलाई निर्देशनात्मक रुपमा मुख्यमन्त्री पाण्डेले सो अभिव्यक्ति दिएको पार्टी सचिव सुवा खतिवडाको भनाइ छ ।
‘विकास निर्माणको काममा सरकारलाई सघाउने काम पार्टीको पनि हो, सोही अर्थमा मुख्यमन्त्री पाण्डेले कार्यकर्ताहरूलाई पार्टी संगठन बनाउन र विकास निर्माणका काममा सहभागी भएर निगरानी बढाउन निर्देशन दिने तवरले सो कुरा बताएका थिए’ पार्टी खतिवडाले भने ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले दिएको अभिव्यक्तिलाई टुक्रा पारेर सुन्दा गलत अर्थ लाग्ने भन्दै कार्यक्रमको पूरा अंश सुन्न पनि उनले सबैलाई आग्रह गरे ।