हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले विश्वासको मत पाएका छन्।
नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत पाएका हुन्।
मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत आएको छ। आजको मतदानमा १०४ जना सांसद उपस्थित थिए। विपक्षमा जम्मा ४३ मत आएको छ भने तटस्थ २ मत आएको सभामुखले प्रदेशसभामा जानकारी गराएका थिए।
नेकपा एमालेले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएको थिएन। एमालेका ४३ सांसद छन् तर आज दुई सांसद उपस्थित थिएनन्।
यस्तै विवेकशील साझा र नेमकिपाले पनि मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएको थिएन। यस्तै राप्रपाका दुई सांसद अनुपस्थित रहेका थिए।
नेकपा (एकीकृत समाजवादी) का नेता पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा सम्मिलित गठबन्धनबाट गत कात्तिक १२ मा मुख्यमन्त्री भएका थिए।
नेकपा एमालेकी उपाध्यक्षसमेत रहेकी यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेपछि राजीनामा दिएकी थिइन्।
प्रदेश सभा बैठक भने अर्को सूचना नआन्जेलका लागि स्थगित भएको छ।
मुख्यमन्त्री पाण्डेले अब मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्।