सुशिला विश्वकर्मा
धादिङ– कामी समुदायको आरन चलाउने परम्परागत पेशा अहिले व्यवसायिक बन्न थालेको छ । बाबुबाजेको पालादेखि नै बालीप्रथामा आरन चलाउँदै आएका धादिङ मैदीका कामी समुदायले अहिले विभिन्न औजारहरु निर्माण गरि विक्रि गर्न थालेका छन् ।
वर्षभरी आरनमा विष्टको कुटो कोदालो र काट्ने हतियार अर्जापेर आएको थोरै अन्नले घर चलाउँदै आएका समुदाय अहिले पैसामा काम गर्ने भएका छन् ।
धादिङको ज्वालामुखी गाउँपालिका ३ मैदीका समशेर वि.क. को त्यहि परम्परागत पेशा अहिले जीविकोपार्जनको माध्यम बनेको छ । उनले बालीप्रथा छोडेर ज्यालामा आरनकोे काम गर्दै आएका छन् । उनी भन्छन्–‘जसरी पनि परिवार पाल्न कै लागि पनि यो पेशा अंगाल्नु परेको छ । ज्यालामा काम हुन थालेपछि अलि सजिलो भएको छ ।’
परम्परागत प्रथा छोडेर ज्यालामा कृषि औजारका सामान बनाएर विक्रि गर्ने र विष्टकै काम गर्दा पनि ज्याला लिने चलन सुरु गरेपछि उनीहरुलाई परिवार पाल्न पनि सहज हुन थालेको लालबहादुर वि.क. बताउँछन् । धादिङबेसीबाट काँचो फलाम लगेर कुटो, कोदालो खुडा, खुकुरीलगायतका सामग्री बनाएर आम्दानी गरिरहेका उनले बताए ।
अहिलेका युवा पुस्ता आरन पेशामा कोही देखिदैनन् । आरन पेशा गरिरहेकाहरु पनि अब उमेर ढल्किदै गएपछि बालीप्रथामा काम गर्न छोड्न थालेका छन् । मैदीकै ६३ वर्षिय टोप बहादुर सुनारले भने अझै पनि बाली प्रथामा नै काम गर्दै आएका छन् । उनको ८३ घरधुरी विष्ट छन् । नयाँ बालि भित्रिएपछि बाली ल्याएर परिवार चलाउने गरेको उनले सुनाए ।
आरन कामी समुदायको परम्परागत पेशा हो । कामी समुदायको आरन पेशालाई व्यवसायीकीकरण गर्न सकिएमा सो समुदायले राम्रो आर्थिक लाभ लिन सक्ने भएपनि स्थानीय सरकारको ध्यान पुग्न सकेको छैन । आधुनिक आरन व्यवसाय सञ्चालन गर्न स्थानीय सरकारले तालिमको व्यवस्था गरिदिए अझ सक्षम बन्न सक्ने उनीहरु बताउँछन् ।