Wed. Mar 12th, 2025

भारत–पाकिस्तान बहुप्रतिक्षित भिडन्त

एजेन्सी –

आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित भिडन्त आइतबार हुँदैछ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यी दुई राष्ट्रबीचको खेललाई ‘हेभिवेट’ भिडन्तका रुपमा हेरिएको छ।

समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति ७ : ४५ बजे सुरु हुनेछ।

भारत र पाकिस्तानबीच लामो समयदेखि राजनीतिक तनाब, सीमा विवाद र विभिन्न विषयमा खिचातानी हुँदै आएको छ। त्यसको प्रत्यक्ष असर खेलकुद क्षेत्रमा पनि देखिने गरेको छ।

यी दुवै राष्ट्रले क्रिकेटका भिडन्तलाई एक अर्काको प्रतिष्ठासँग जोडेर समेत हेर्ने गरेका कारण पनि अरु खेलले भन्दा भारत–पाकिस्तान भिडन्तप्रति धेरैको चासो रहने गरेको छ।

यी दुवै टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र एसियाली क्रिकेट काउन्सिल (एसीसी)को प्रतियोगिता बाहेक अन्य प्रतियोगितामा भने सहभागी हुँदैनन्।

सन् २०१९ को एकदिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसैगरी सन् २०१६ को टीट्वेन्टी विश्वकपपछि यी दुई टोलीले पहिलो पटक सीमित ओभरका खेल खेल्न लागेका हुन्।

सन् २०१६ को विश्वकपमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो। यसैगरी सन् २०१९ को एकदिवसीय विश्वकपमा पनि भारत नै विजयी भएको थियो।

चिरप्रतिद्वन्द्वीका रुपमा रहे पनि एकदिवसीय विश्वकप र टीट्वेन्टी विश्वकपमा नै किन नहोस् पाकिस्तानले भारतलाई पराजित गर्न सकेको छैन। पाकिस्तानले भारतविरुद्ध आईसीसीको कुनै प्रतियोगितामा जित निकालेको छ भने त्यो च्याम्पियन्स ट्रफीमा हो।

च्याम्पियन्स ट्रफीमा पाकिस्तानले भारतविरुद्ध तीन पटक जित हात पारेको छ। पछिल्लो पटक पाकिस्तानले भारतलाई सन् २०१७ को आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पराजित गरेको थियो।

भारतले पाकिस्तानलाई टीट्वेन्टी विश्वकपअन्तर्गत अहिलेसम्म खेलेका सबै पाँच खेलमा पराजित गरेको छ। यस पटक पाकिस्तानले भारतसँगको हारको यात्रामा पूर्णविराम लगाउने रणनीति लिएर मैदान उत्रने क्रिकेट विश्लेषकहरुले बताएका छन्।

पाकिस्तानका कप्तान बाबर अजाम भने यस पटक नतिजा आफ्नो पक्षमा पार्नेमा विश्वस्त देखिएका छन्। उनको विश्वासको एउटा कारण हो, पाकिस्तानले पछिल्लो एक दशकमा टीट्वेन्टी क्रिकेटमा गरेको प्रदर्शन।

About The Author

अन्य समाचारहरु: