शंकर श्रेष्ठ
धादिङ- काङ्ग्रेसको महाधिवेशन मंसिर ९-१३ मै हुने नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता गगन थापाले बताएका छन् ।
काङ्ग्रेस धादिङका पुर्व सभापति रामनाथ अघिकारीको आमाको निधनपछि काजकिरियामा रहेका अधिकारीलाई समवेदना प्रकट गर्न धादिङ आएका थापाले काङ्ग्रेस महाधिवेशनअघि नेपालमा कुनै निर्वाचनको संभावना नरहेको बताए । काङ्ग्रेसको १३ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले निर्वाचनमा दल दर्ता गर्नै नपाइने भएकोले पनि १४ औँ महाधिवेशन अघि देशमा कुनै निर्वाचनको संभावना नरहेको स्पष्ट पारे ।
‘अहिलेको कार्यसमिति अबैधानिक भैसकेको छ ।
बैशाखमा निर्वाचन गर्न पनि यो कार्यसमितिले दल दर्ता गर्न मिल्दैन’ थापाले भने- ‘त्यसैले नेपाली काङ्ग्रेसले महाधिवेशन नगरिकन आम निर्वाचन स्थानीय निर्वाचन कतै पनि भाग लिनै पाउदैन ।’ महाधिवेशनअघि चुनाव होला कि भन्ने कुरामा नअलमलिन काङ्ग्रेस कार्यकर्तालाई आग्रह गरेका छन् ।
आजको केहिदिनभित्रै निर्वाचन समितिले नयाँ कार्यतालिका निकाल्ने र मंसिर ९ देखि १३ मा नै महाधिवेशन हुने ठोकुवा गरे । केन्द्रीय समितिको बैठक माग गरिरहेको बताउदै उनले भने- ‘पार्टी अधिवेशनको तिथिमिति सार्ने भनेको २ जना नेताहरुले कानेखुसी गरेर सार्ने भन्दैमा सर्दैन । पार्टी कसैको निजि कम्पनी जस्तो होइन ।’ केन्द्रीय समितिको बैठक बिना महाधिवेशनको मितिको विषयमा छलफल समेत गर्न नपाइने थापाले जिकिर गरे ।