
एजेन्सी –
रुसको टाटस्र्टन क्षेत्रमा एक विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । रुसको स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार यो विमानमा ‘पारासुट जम्पर’ सवार थिए ।
समाचारमा उल्लेख गरिएअनुसार दुर्घटनाग्रस्त विमानबाट सात जनालाई जीवितै उद्धार गरिएको छ । बाँकी १५ जना भने जीवित भएको कुनै संकेत फेला नपरेको रुसका अधिकारीहरुले बताएका छन् । समाचारमा बताइएअनुसार अहिले दुर्घटनामा परेको विमान एल–४१० टुर्बोलेट हो ।
आपतकालीन मन्त्रालयले सार्वजनिक गरेको तस्वीरमा विमानको अगाडिको भाग दुर्घटनामा जमिनमा गाडिएको र आधा भागमा विमान भाँचिएको देख्न सकिन्छ । अहिले उपचारको क्रममा रहेका सातजनामध्ये एकजनाको अवस्था गम्भीर रहेको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
पछिल्ला केही वर्षमा रुसमा हवाई सुरक्षाको मापदण्ड सुधार गरिएको छ तर दुर्घटना हुने क्रम भने रोकिएको छैन ।