काठमाडौ –
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँ लगत्तै १८ वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् ।
आइतवार कान्ति बाल अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको बताए । यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उनले बताए ।
दसैँलगत्तै १ लाख फाइजर खोप आउने उनले जानकारी दिए । फागुनसम्ममा क्रमशः खोप आउने र बालबालिकालाई उपलब्ध गराइने उनले बताए ।
उनले भने, ‘सरकारको तर्फबाट यसलाई उच्च प्राथमिकता दिएर एक करोड खोप जसमा मोर्डना ४० लाख र फाइजर ६० लाख खोपको खरिद गर्ने व्यवस्था सुनिश्चितता भइसकेको र यो दशैँको लगत्तै १ लाख फाइजर खोप आउने त्यसपछि फागुन सम्ममा पटक पटक गरेर फाइजर र मोर्डना आएर बालबच्चाको लागि पनि खोपको व्यवस्थापन हुनेछ । र क्रमिक रुपमा देशभरी खोप लगाइने जानकारी गराउन चाहान्छु ।
राज्यमन्त्री श्रेष्ठले सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै तिनै तहको अस्पतालको व्यवस्थापकीय पक्षलाई सुधार्न नीति बनाउने तयारी सरकारले गरेको बताए ।
कार्यक्रमकाबीच बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेसनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टीलेटरलगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।