काठमाडौ –
सरकारले २०७२ सालदेखि वितरण गरिरहेको स्मार्ट लाइसेन्स (चालक अनुमतिपत्र) वितरण एक वर्षदेखि रोकिएको छ ।
स्मार्ट लाइसेन्स छपाइको ठेक्का लिएको भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्ट (एमएसपी) ले समयमै कार्ड नदिँदा वितरण ठप्प बनेको हो । विदेश जानेहरूका लागि आकस्मिक रूपमा स्मार्ट लाइसेन्स वितरण भने रोकिएको छैन ।
नयाँ लिने र नवीकरण गर्नेसहित सात लाख सेवाग्राही स्मार्ट लाइसेन्सको पर्खाइमा छन् । कात्तिक दोस्रो सातासम्म सम्झौता भएको १४ लाखमध्ये ५० प्रतिशत कार्ड आइसक्ने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेको दाबी छ ।
समयमै स्मार्ट लाइसेन्स नपाउँदा सेवाग्राही भने राजस्व तिरेको कागज बोकेर सवारी चलाउन बाध्य छन् ।