Sun. Mar 16th, 2025

चीनमा १४ वर्षमुनिका बालबालिकाले दैनिक ४० मिनेटभन्दा बढी टिकटक चलाउन नपाउने

काठमाडौ –

चीनमा १४ वर्षमुनिका बालबालिकाले दिनको ४० मिनेटभन्दा बढी टिकटक चलाउन नपाउने भएका छन् । चिनियाँ भर्जनको टिकटक ‘दोयिन’ ले ‘टिनेज मोड’ सुरु गरेको हो ।

टिकटकको ‘प्यारेन्ट कम्पनी’ बाइटडान्सले शनिबार एउटा वक्तव्य जारी गर्दै १४ वर्षमुनिका प्रयोगकर्तालाई समयावधि तोकिएको जानकारी दिएको छ ।

साथै उक्त उमेर समूहका प्रयोगकर्ताले बिहान ६ बजेदेखि राति १० बजेको बीचमा मात्रै टिकटक चलाउन पाउनेछन् । साथै प्रयोगकर्ताले वास्तविक नाममा टिकटक आइडी बनाउनुपर्नेछ ।

वास्तविक नामबिना बनाइने टिकटकमाथि कसरी निगरानी गरिन्छ भन्नेबारे भने केही खुलाइएको छैन । कम्पनीले युवा उमेर समूहका प्रयोगकर्तालाई लक्षित गरेर विज्ञान, संग्रहालय र प्राकृतिक दृश्यसहितका सामग्रीलाई प्राथमिकता दिने पनि बताएको छ ।

त्यस्तै तियानमेन स्क्वायर, जिन्जियाङ उइघुर मुस्लिमलगायतका राजनीतिक रूपले संवदेनशील विषयमा बनाइने भिडियोमाथि पनि कडा निगरानी राखिने र उक्त सामग्री तुरुन्त हटाइनेछ ।

सीएनबीसीका अनुसार चीनमा करिब ६० करोड टिकटक प्रयोगकर्ता रहेका छन् । बाइटडान्स चीनको सीईओ केली चाङका अनुसार गत वर्ष २ करोड २० लाखभन्दा बढी प्रयोगकर्ताले आफ्ना भिडियो सामग्रीमार्फत झन्डै ४१ बिलियन युआन कमाएका थिए ।

About The Author

अन्य समाचारहरु: