
काठमाडौ –
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको प्यारापिटको पहिलो चरणको काम सकिएको छ । तीन हजार दर्शक क्षमता भएको प्यारापिटका २ सय ८६ वटा पिलर उठाइएको छ । चौरमा दुबो गोड्ने काम भइरहेको छ । चौरको काम ९५ प्रतिशत सकिएको छ । प्यारापिट तयार भएर भीआईपी टावर बनाउन थालिएको छ । टावर ‘वान’ को पिलर उठाइसकेर बिम ढलान हुँदै छ । ८ वटा पिच बन्न बाँकी छन् ।
तर दोस्रो टावरको काम हुँदै गर्दा धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माण रोकेको छ । ‘एक वर्षमा ३५ प्रतिशत काम सकियो, पहिलो चरणको प्यारापिट निर्माण भयो, अब पिच बन्नेबित्तिकै जुनसुकै खेल खेलाउन मिल्ने अवस्था छ,’ फाउन्डेसनका संस्थापक सीताराम कट्टेल ९धुर्मुस० ले भने, ‘हामीले अहिलेसम्म उधारोमा काम गर्यौं । ५४ करोड खर्च भएकामा करिब १६ करोड रुपैयाँ उधारो भइसक्यो । एकै पटक धेरै ठूलो रकम खर्च गर्नुपर्ने भएकाले अब हाम्रो सामर्थ्यले धान्दैन भनेर रोकेका हौं ।
२०७५ माघ १६ मा राज्यको सहभागितामा चितवनको रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजना घोषणा भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री शशांक कोइराला, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, कृषि वन विश्वविद्यालयका उपकुलपतिलगायत मन्त्री, सांसद, खेलाडीको उपस्थितिमा घोषित परियोजना अगाडि त बढ्यो ।
तर, ६ महिनाभित्र तयार गर्ने भनिएको डीपीआर समयमा तयार हुन सकेन । प्राविधिक कारणले तीन महिना परियोजना रोकिन पुग्यो । डीपीआर बन्नै ८/१० महिना लाग्यो । प्रारम्भिक चरणमा बजेट थिएन । फाउन्डेसनको मौज्दात २ करोड ८६ लाख ३७ हजार ११ रुपैयाँ खर्च गर्ने निर्णयसँगै रंगशाला निर्माण अगाडि बढ्यो ।
२३ लाख लिटर पानी अट्ने क्षमताको ड्रेन बन्यो । विभिन्न आमा समूह र व्यक्तिले निर्माणाधीन क्षेत्रमै आएर रकम सहयोग गरे । संस्थागत हिसाबमा स्वदेश–विदेशदेखि रकम संकलन गरेर पठाउन थालेपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण व्यवस्थापन समिति ऊर्जाशील बन्दै गयो । त्यसबीच धनधान्याचल महायज्ञ भयो ।
महायज्ञमा ६९ करोड ४५ लाख, ५६ हजार रकम बोलकबोल भयो । उनीहरू झनै उत्साहित भए । परियोजनाको घोषणा हुँदै गर्दा पनि ५र६ करोड रकम घोषणा भएको थियो । राज्यको उपस्थितिमा परियोजना घोषणा भएपछि धुर्मुसको टिमलाई लागेको थियो, ‘सबै पक्षले हातेमालो गरेको खण्डमा तोकिएको समयमै रंगशाला निर्माण हुन्छ ।