
काठमाडौ –
आईसीसी क्रिकेट विश्वकप लिग २ खेल्न ओमान पुगेको नेपाल र अमेरिका दुवै टिमले त्यसअघि पपुवा न्यु गिनी पीएनजीसँग दुई ओडीआई म्याच खेलेको छ । दुवे टोलीले पीएनजीलाई सहजै पराजित गर्दै सिरिज २–० ले आफ्नो पक्षमा पारे ।
त्यही दुई टिम नेपाल र अमेरिका लिगको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज भिड्दैछन् । सन् २०२३ को ओडीआई विश्वकपको रोडम्यापको रुपमा रहेको लिग–२ को यो छैटौं सिरिज हो । यस सिरिजमा नेपाल र अमेरिकासंगै घरेलु टोली ओमान पनि छ ।
ओमान भने यसअघि नै मुम्बईको टिमसँग टी २० र ओडीआई सिरिज खेलेर लिग(२ का लागि तयारी गरिसकेको छ ।
करिब १९ महिनापछि फेरि भेट हुँदा नेपाल र अमेरिका दुवै टिम लिग –२ मा जितका साथ सिरिज सुरुआत गर्ने लक्ष्यमा छ ।
पछिल्लो पटक सन् २०२० फेब्रुअरीमा नेपालमै भएको सिरिजमा नेपाल र अमेरिका अन्तिम खेलमा खेलेका थिए । त्यस खेलमा नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गरेको थियो । त्यो सिरिजमा पनि यिनै तीन राष्ट्रले खेलेका थिए ।
ओमानले लिग–२ मा लगातार तेस्रो सिरिज खेल्न लाग्दा नेपाल र अमेरिका लगातार दोस्रो सिरिज खेल्न लागेको हो । लिग–२ मा नेपालको यो दोस्रो सिरिज हो । यसअघि घरेलु मैदानमा भएको सिरिजमा नेपालले ४ खेलमा मिश्रित नतिजा निकालेको थियो ।
ओमानको फरक कन्डिसन केही चाँडै पुगेर तयारी गरेको नेपालले अमेरिका विरुद्ध राम्रो नतिजासहित सिरिज सुरुआत गर्ने लक्ष्य राखेको छ । तर त्यो सजिलो भने छैन । किनभने ७ टिम सहभागी लिग–२ को अंक तालिकामा अमेरिका दोस्रो स्थानमा छ ।
अझ ओमान शीर्ष स्थानमा छ । त्यसैले कप्तान ज्ञानेन्द्र मल्लले पनि पहिलो खेल सजिलो नहुने बताएका छन् । ‘अमेरिकाविरुद्ध खेल सजिलो हुने छैन । प्रतिस्पर्धात्मक हुनेछ । अमेरिका टेबलमा पनि दोस्रो स्थानमा छ । यो कन्डिसनमा अली फरक हुन्छ जस्तो लाग्छ ।’
ज्ञानेन्द्रले खेलको अघिल्लो दिन भनेका थिए । यसअघि नेपालले अमेरिकालाई घरेलु मैदानमा दुवै खेलमा हराएको थियो । तर ज्ञानेन्द्रले विगतमा भन्दा पनि वर्तमान र भविष्यलाई हेर्नुपर्ने बताएका छन् ।
यस पटक नेपाली टिमका उपकप्तान तथा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी भने चोटका कारण खेल्ने छैनन् । एंकलको चोटका कारण उनले सिरिज नै गुमाउने पक्का भइसकेको छ । अभ्यासका क्रममा घाइते भएका उनले पीएनजीविरुद्धको दुवै खेल गुमाए ।