धादिङ – नेपाली कांग्रेस धादिङले जिल्लाको अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जिल्लामा रहेका कुल १ सय ४ वडामध्य ९५ प्रतिशत वडामा सर्वसम्मत वडासभापति चयन भएको जिल्ला कार्यसमिति सदस्य नवराज तिमल्सिनाले जानकारी दिए ।
केही वडामा साँझसम्म पनि सहमतिको प्रयास भइरहेको छ । नीलकण्ठ नगरपालिका ३ र ७, ज्वालामुखी गाउँपालिका ४ बाहेक अन्य वडामा लगभग सर्वसहमतिमा सभापति चयन भएको कांग्रेस धादिङले जनाएको छ । वेनिघाट ४ मा भने क्षेत्रिय प्रतिनिधिको खुल्लातर्फ निर्वाचन भएको छ ।
वडा सभापतिमा निर्वाचित भएकाहरुमा अधिकांश नयाँ अनुहार देखिएका छन् । यसअघि पार्टी राजनीतिमा खासै नदेखिएका तर विभिन्न भातृ संगठनमा नेतृत्व गर्दै आएका नयाँ पुस्ता नै कार्यसमितिमा देखिएका छन् ।
अधिकांश वडामा नेतृत्व चयन भइसकेको भएपनि जिल्ला निर्वाचन समितिले वडासभापतिको नाम सार्वजनिक गरिरहेको छैन । केन्द्रमा देखिएको गुटको प्रभाव जिल्लामा पनि देखिएको छ । धादिङमा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका भीमप्रसाद ढुंगाना र रामचन्द्र पौडेल पक्षका रामनाथ अधिकारी मुख्यगरी दुई धारमा देखिएका छन् । जिल्ला सदरमुकाम रहेको वडा नं. ३ मा दुबै पक्षले आफु बलियो भएको दावी गर्दै एकअर्काैलाई स्वीकार्य सकिरहेका छैनन् । यहाँ निर्वाचन हुने पक्कापक्की नै भएको छ ।
नेपाली कांग्रेस धादिङको सोमबार हुने वडा अधिवेशनबाट २४ सय ३ जना वडा कार्यसमितिमा निर्वाचित हुनेछन् भने १९ सय ७० जना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनेछन् । जिल्लामा १०४ वडा रहेका छन् । जिल्लाबाट ५० जना संघीय महाधिवेशन प्रतिनिधिहरु छनौट हुनेछन् ।