धादिङ : नेपाली कांग्रेसको वडा अधिवेशनमा युवाको वर्चश्व देखिएको छ । वडा सभापतिदेखि कार्यसमितिमा युवा पुस्ताले नै बढी दाबी गरिरहेका छन् ।
धादिङमा सोमबार वडा अधिवेशन हुँदैछ । सबै वडामा सर्वसहमतिका लागि नेताहरु छलफल र भेटघाटमै व्यस्त छन् । केन्द्रमा देखिएको गुटको प्रभाव जिल्लामा पनि प्रष्ट देखिएको छ । कुन वडामा कस्का उम्मेदवार अघि बढाउने भन्ने विषयमा नेता कार्यकर्ताको दौडधुप भइरहेको छ ।
धादिङमा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका भीमप्रसाद ढुंगाना र रामचन्द्र पौडेल पक्षका रामनाथ अधिकारी मुख्यगरी दुई धारमा देखिएका छन् । छिटफुट बाहेक सबै वडामा सहमतिमै वडा कार्यसमिति बनाउने प्रयास भइरहेको दुबै पक्षका नेताहरुले बताएका छन् ।
नेपाली कांग्रेस धादिङको सोमबार हुने वडा अधिवेशनबाट २४ सय ३ जना वडा कार्यसमितिमा निर्वाचित हुनेछन् भने १९ सय ७० जना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनेछन् । जिल्लामा १०४ वडा रहेका छन् ।
धादिङमा हाल १५ हजार ७ सय ८८ जना क्रियाशिल सदस्य छन् । अघिल्लो अधिवेशनको भन्दा यो संख्या झण्डै दोब्बरले बढी हो । जिल्लाबाट ५० जना संघीय महाधिवेशन प्रतिनिधिहरु छनौट हुनेछन् ।
प्रदेश अधिवेशनका लागि धादिङबाट ६८ जना प्रदेश अधिवेशन प्रतिनिधि जानेछन् । संघीय महाधिवेशन प्रतिनिधि स्वतः प्रदेश महाधिवेशन प्रतिनिधि हुने भएकाले प्रदेश महाधिवेशन प्रतिनिधिको संख्या १ सय १८ पुग्नेछ । यो अधिवेशनबाट ४ वटा प्रदेश कार्यसमिति, २ वटा संघीय क्षेत्र कार्यसमिति र एउटा जिल्ला कार्यसमिति चयन गर्नेछ ।