
धादिङ– नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल १-१ गोलको बराबरीमा सकिएको छ। खेलको ३६औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। तर, नेपालले आफ्नो अग्रता दोस्रो हाफमा गुमायो।
सुरुवाती अग्रता जोगाउन नसक्दा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसंग १-१ को बराबरीमा रोकिएको हो । दशरथ रंगशालामा दोस्रो हाफमा भारतका लागि अनिरुध थापाले बराबरी गोल फर्काए ।
नेपाल र भारतबीच सन् २०१७ मा मुम्बईमा पछिल्लो मैत्रीपूर्ण खेल हुँदा नेपाल २-० ले पराजित भएको थियो । दशरथ रंगशालामा भने सन् २०१५ पछि यी दुई टोली पहिलो पटक खेलेका हुन् ।
त्यसअघि ३२ औं मिनेटमा नेपालले पेनाल्टी एरिया बाहिर फ्रिकिक पाएको थियो । त्यसमा अन्जन विष्टको प्रहार पोष्टभन्दा धेरै माथिबाट बाहिरिएको थियो ।
६० औं मिनेटमा भारतका वैकल्पिक खेलाडी अनिरुध थापाले गोल गर्दै खेल बराबरी गरे । कप्तान सुनील क्षेत्रीले करिब २० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले डाइभ गर्दै बचाए पनि पूर्ण रुपमा क्लियर नभएपछि अनिरुदले गोललाइनबाटै जाली चुमाए ।
अनिरुध दोस्रो हाफको सुरुमै ब्रान्डन फर्नान्डेजको स्थानमा मैदान प्रवेश गरेका थिए ।
६५ औं मिनेटमा नेपालले तीन खेलाडी परिवर्तन गर्दै मनिस डाँगी, सुनिल बल र विशाल राई मैदान प्रवेश गरेका थिए । मनिष नवयुगको स्थानमा, सुनील आयुष घलान र विशाल सुमन लामाको स्थानमा मैदान प्रवेश गरेका हुन् ।
८३ औं मिनेटमा भारतका मनविर सिंहले पेनाल्टी एरिया भित्रबाट प्रहार गरेको बल गोलपोष्टको दिशा लिन सकेन । इन्जुरी टाइममा सुमन अर्यालको पासमा मनिष डाँगीको हेडर पोष्ट नजिकैबाट बाहिरिएको थियो । नेपाल र भारतबीच अर्को खेल आइतबार हुनेछ ।