मकवानपुर –
वाग्मती प्रदेशका ११ सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा समाजवादी पार्टी रोजेका छन् । नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरुले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोज्दै सनाखत गरेका हुन् ।
सांसदहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्की छन् ।
सांसद बसुन्धरा हुमागाईंका अनुसार अझै केही सांसदहरु थपिने छन् । ‘हामी पहिलो चरणमा जम्मा भएका साथीहरुले सनाखत गरेका हौं । अझै साथीहरु थपिनुहुनेछ,’ हुमागाईंले भने । उनले नवगठित पार्टीमा वाग्मती प्रदेशका २१ जना सांसदहरु रहेको दाबी गरे ।