Fri. Nov 29th, 2024

माधव नेपालले नयाँ दल खोलेसँगै एमाले विभाजित


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एमाले अन्ततः औपचारिक रूपमा विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै एमाले बुधबार विभाजित भएको हो ।

नेपालको नेतृत्वमा तत्कालीन नेकपा एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य र ३१ जना सांसदसहित आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । नेता नेपाल अध्यक्ष रहेको दलको नाम एमाले (समाजवादी) राखिएको छ भने सो पार्टीको वरिष्ठ नेतामा झलनाथ खनाल रहेका छन् ।

बाँकी सबैको नाम केन्द्रीय सदस्यमा समावेश गरिएको जानकारी नेताहरूले दिएका छन् । केन्द्रीय कमिटीमा ९५ जनाको नाम छ । एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य उपस्थित भएर नयाँ दल दर्ताको निर्णय गरेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए। उनले ३१ जना सांसद् आफ्नो साथमा रहेको बताए ।

एमालेभित्र ओलीले गरेको व्यवहार, पटक–पटक संसद भंगको परिणाम स्वरुप नयाँ दल दर्ता भएको जनाउँदै पाण्डेले छिट्टै पार्टीले राष्ट्रिय सम्मेलन आयोजना गर्ने जानकारी दिए । नयाँ दल दर्ता भए पछि सरकारमा सहभागी हुने रणनीति पनि लिइएको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आफ्ना पक्षका नेता तथा सांसदहरू लिएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । यसअघि २०५४ सालमा नेपाल महासचिव रहँदा वामदेव गौतमको नेतृत्वमा एमाले विभाजित भएर नेकपा माले बनेको थियो ।

नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग पुग्दा नेपाल समुहमा रहेका भनिएका अमृत कुमार बोहोर, भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, युवराज ज्ञवाली, योगेश भट्टराईलगायतका नेताहरू भने देखिएनन् ।

About The Author

अन्य समाचारहरु: