धादिङ – गत बैशाख १२ गते गएको विनाशकारी भुकम्प पछि धेरै ठाउँमा अस्थायी टहरा निर्माण गर्ने कार्य भइरहेका छन् । धेरै ठाउँमा अस्थायी टहरा निर्माण हुने कार्य भएपनि सबै प्रभावितले अस्थायी टहरा निर्माण गर्न सकेका छैनन ।
अस्थायी टहरा निर्माण गर्न नसक्दा प्रभावितको दैनिकी निकै कष्टकर बन्दै गएको छ । यसै मध्ये नलाङ गाविस वडा नम्वर ९ कालिदहका भुकम्प पिडितहरुले पनि अस्थायी टहरा निर्माण गर्न सकेका छैनन् ।
भुकम्पले घर चर्किएर लड्ने अवस्थामा पुगेपछि सानो त्रिपालको सहारामा दैनिक गुजारा चलाउँदै आएका केही प्रभावितहरु अझै पनि त्रिपालकै साहारामा बसेका छन् । भुकम्पले घर भत्किएपछि स्थानीय ६७ बर्षिया हिरामाया गुरुङ अहिले पनि त्रिपालमुनि नै गुजारा गर्दै आएका छन् । उनको ६ जना नाती नातिनी, छोरा बुहारी र छोरी सहित त्रिपालकै साहारामा बस्दै आइरहेका छन् । त्रिपालको एउटा सानो छाप्रोमा ठुलो परिवार सँगै बस्नुपर्दा समस्या भएको उनको भनाई छ । हरेक दिनजसो आउने हावाहुरीले त झनै बिजोग बनाएको गुरुङ बताउँछन् । त्रिपाल उडाउने, च्यात्ने गर्नुका साथै पानी पर्दा छाप्रोमा भएको लत्ताकपडा तथा अन्य अन्नपात समेत भिज्ने समस्या थपिएको छ ।
भुकम्प प्रभावित क्षेत्रमा राहत वितरण गरिएको विषयमा रेडियोले दैनिक रुपमा समाचार भन्दै आएपनि आफुहरुले भने खासै सहयोग नपाएको उनको गुनासो छ । सरकारी राहत स्वरुप त्रिपाल, चामल तथा दाल पाएको भएपनि अन्य सहयोग नपाएको हिरामाया गुरुङले गुनासो गरिन् । हुन त भत्कन लागेको घरमा अन्नपात पनि छ तर के गर्ने घरमा जानै डराई मर्नु छ । कतिखेर भत्कने हो, पत्तो छैन । घरभित्रका अन्नपात निकाल्न नसकेपछि झन समस्या बढेको छ ( हिरामाया गुरुङले बताइन् । उनको जेठो छोरा गणेश बहादुर गुरुङ त्यतिवेला देशको विषम अवस्थाका कारण घर छाडि बैदेशिक रोजगारीमा जान बाध्य हुनुप¥यो । घरमा भुकम्पले के हालत बनायो होला भन्ने चिन्ता गणेशलाई पनि छ । घरको अवस्थाको बारेमा गणेश बहादुरकले बारम्वार फोन मार्फत सोधखोज गर्दै आइरहेको श्रीमति जानुका गुरुङले बताइन् ।
उनको परिवार मात्र होइन कालिदहमा अन्य स्थानीयको अवस्था पनि उस्तै छ । अधिकांशले अहिले पनि त्रिपाल छाड्न सकेका छैनन । बैशाख १२ गते आएको भुकम्पको पहिलो झड्काले कालिदहमा एकै परिवारका दुई जना र आफन्त २ जना समेत गरी ४ जनाको मृत्यु भइसकेको छ । सो क्रममा घरमा टि.भि हेरिरहेको अवस्थामा हजुरआमा दिलकुमारी गुरुङ र नाति विनम गुरुङ तथा आफन्तहरु डल्लीमाया गुरुङ र लक्ष्मीमाया गुरुङको मृत्यु भयो भने दिलकुमारी गुरुङको उपचारको क्रममा मृत्यु भएको थियो । मृतकका आफन्तहरुको अवस्था अहिले पनि कष्टकर रहेको छ ।