धादिङ– वैकल्पिक विधिबाट कक्षा संचालनको माग गर्दै अनेरास्ववियु धादिङले जिल्लाका सबै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।
जिल्ला प्रशासन, शिक्षा विकास तथा समन्वय इकाईसहित जिल्लाका १३ वटै स्थानीय सरकारलाई माधव नेपाल पक्षका अनेरास्ववियुले मंगलबार ध्यानाकर्षणपत्र बुझाएको हो ।
सुरक्षित उपायहरुको अवलम्बन गरेर वा अन्य प्रविधि मार्फत विद्यालय पुनः सञ्चालन गर्न सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराइएको अनेरास्ववियु धादिङका अध्यक्ष मिश्र शाक्यले बताए । ‘सुरक्षित उपायहरुको अवलम्बन गरेर हामीले भौतिक रुपमा वा अन्य प्रविधि मार्फत विद्यालय पुनः सञ्चालन गर्न सकेनौ भने यसबाट शिक्षा क्षेत्रमा अपुरणीय क्षति हुने सम्भावना उच्च रहन्छ’ उनले भने ।
‘स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर विद्यालय गर्ने अथवा सम्र्पण विद्यार्थी सम्म वैकल्पीक विधि बाट नियमित शिक्षा आर्जन गर्न सक्ने व्यवस्था मिलाउने निर्णय लिनु उत्तम हुने देखिन्छ । विद्यालय पुनः सञ्चालन कहिले र कसरी गर्ने भन्ने विषय आजको प्राथमिकतामा राखिनुपर्दछ’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
उच्च जोखिम क्षेत्रको पहिचान गरि त्यस क्षेत्रमा दुर शिक्षाको प्रभावकारितालाई बढाएर न्युन जोखिम क्षेत्रको पहिचान गरि त्यस क्षेत्रमा स्वास्थ्य मापदण्डको पालना कडाइका साथ गरि विद्यालय सञ्चालन गर्नुपर्ने ध्यानाकर्षण पत्रमा लेखिएको छ ।
उत्तरी र दक्षिणी भेगका दुर्गम भूभागमा अनलाइन कक्षाको प्रभावकारिता नरहेकोले २ समुहमा विभाजन गरेर भएपनि कक्षा संचालनको व्यवस्था मिलाउन अनेरास्ववियुले माग गरेको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले संघीय सरकारक निर्देशनमा जिल्लाका सबै विद्यालयमा भौतिक उपस्थिति बन्द गराइएको प्रतिक्रिया दिए ।