Fri. Nov 29th, 2024

भदौ ५ सम्म त्रिविका पूर्वनिर्धारित परीक्षा नरोकिने

काठमाडौ– त्रिभुवन विश्वविद्यालयले यसअघि तालिका सार्वजनिक गरी सञ्चालन गरिरहेका परीक्षा स्थगित नगर्ने भएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सहमतिमै विश्वविद्यालयले भदौ ५ गतेसम्मको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए।

विश्वविद्यालयमा हाल वार्षिक परीक्षा प्रणालीअन्तर्गत स्नातक तह प्रथम वर्षको परीक्षा सञ्चालन भइरहेको छ । साथै सेमेस्टर प्रणालीअन्तर्गत स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षासमेत जारी छ। 

कतिपय परीक्षा विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा सञ्चालन गरिएको र विद्यार्थी संख्या न्यून भएकाले सीसीएमसीले परीक्षा सञ्चालनका लागि स्वीकृति दिएको नियन्त्रक जोशीको भनाइ छ।

धेरै विद्यार्थी सहभागी रहेको स्नातक तह प्रथम वर्षको परीक्षा सकिएको बताउँदै उनले अब न्यून विद्यार्थी अध्ययन गर्ने संकाय र विषयको परीक्षा मात्रै बाँकी रहेको जानकारी दिए।

भदौ ५ गतेपछिको परीक्षाबारे भने कोरोना भाइरस संक्रमणको अवस्थालाई दृष्टिगत गरी निर्णय गरिने विश्वविद्यालयले जनाएको छ। 

विश्वविद्यालयले भदौ ११ गतेबाट स्नातक तहतर्फ एलएलबी प्रथम वर्षको परीक्षा कार्यक्रम राखेको छ। त्यसैगरी भदौ २७ गतेबाट एलएलबी दोस्रो वर्षको परीक्षा गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ। 

भदौ २५ गतेबाट स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा गर्ने तयारी विश्वविद्यालयको भए पनि परीक्षा तालिका भने सार्वजनिक गरिएको छैन। यसअघि राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेबाट सञ्चालन हुने कक्षा १२ को परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो।

About The Author

अन्य समाचारहरु: