
काठमाडौं – अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले स्पेनिस फुटबल क्लव बार्सिलोना छाड्ने निश्चित भएको छ । सो क्लवले आधिकारिक वक्तव्य जारी गरी यसको पुष्टि गरेको हो ।
‘मेस्सी अब फुटबल क्लव बार्सिलोनामा रहने छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘खेलाडी र क्लव दुवैको सम्झौता गर्ने मनसाय रहे पनि यो हुन सकेन ।’
बार्सिलोनाले मेस्सीलाई आजसम्म गरेको योगदानका लागि आभार व्यक्त गरेको छ । साथै भविष्यमा उनको व्यक्तिगत र व्यवसायिक जीवनका लाग शुभकामना दिएको छ ।
‘यस्तो अवस्था आउनुमा हामी दुवै पक्षलाई नराम्रो लागेको छ । हामी खेलाडीलाई भविश्यको शुभकामना दिन चाहन्छौं र उनको कमी बार्सिलोनामा सधैं रहिरहनेछ,’ क्लबले भनेको छ ।
बार्सिलोनाले विहीबार नयाँ सम्झौताको तयारी गरिरहेको थियो । किनभने सोही दिन मेस्सी बार्सिलोनामा आबद्ध भएको २१ वर्षगाँठ थियो । र, यो अवस्था आउनुमा क्लबले ला लिगालाई दोष देखाएको छ ।
२१ वर्ष बार्सिलोनामा रहँदा मेस्सीले क्लवका लागि कीर्तिमानी ६ सय ७२ गोल गरेका छन् । उनले बार्सिलोनालाई १० पल्ट ला लिगा च्याम्पियन बनाएका छन् भने चारपल्ट च्याम्पियन्स लिग सातपटक कोपा डेल रे दिलाएका छन् । उनले प्रतिष्ठित बेलोन डी’ओर अवार्ड ६ पल्ट जितेका छन् ।
मेस्सीलाई बार्सिलोनामै राख्नका लागि अध्यक्ष जोआन लापोर्टाले हदैसम्मको प्रयास गरेका थिए । सम्झौताका लागि तयारसमेत गरेका थिए ।
मेस्सी सन् २००० देखि बार्सिलोनाको युवा एकेडेमी ला मासियामा आवद्ध थिए । २१ वर्षपछि उनी क्लवबाट बाहिरिएका छन् ।