शंकर श्रेष्ठ
धादिङ- विहिबार दिउसो करिब ११ बजे । एकजना महिला बच्चा च्यापेर छट्पटाइरहेकी थिइन् । भोकले नै हुनुपर्छ बच्चा रोयो, उनी असिनपसिन भइन् । अलि पर महिला फलफुल पसलेको छेउमै पुगिन् । नजिकै सडक पेटीमै बसेर पछ्यौराले छोप्दी बच्चालाई स्तनपान गराइन् । यो उनको रहर थिएन बाध्यता हो ।
किनकी धादिङबेसीस्थित पुछारबजारको भीडभाडमा नीलकण्ठ–९, पाल्पाकी ती महिलाले बच्चालाई दुध खुवाउने सुरक्षित स्थान नै पाइनन् । धादिङमा कहिकतै पनि सार्वजनिक स्थलमा स्तनपान गराउने छुट्टै ठाउँ छैन । कार्यालयहरुमा स्तनपान कक्ष नहँुदा कामकाजी महिला झनै समस्यामा छन् ।
कतिपय आमाहरु त स्तनपान गराउने ठाउँ नभेट्टाउँदा समस्यामा पर्ने गरेको नीलकण्ठ–८, की हेममाया तामाङसँग नरमाइलो अनुभव छ । ‘सार्वजनिक स्थलमा शिशु भोकाएमा आमाहरुलाई छटपटी हुन्छ’ उनी भन्छिन्,‘आमाहरु कहिले होटलतिर छिरेर स्तनपान गराउँछन्, त कसैले सलले वा कपडाले छोपेर स्तनपान गराउँछन् ।’
स्तनपानको समस्या न्यूनीकरण गर्न सरकारले स्तनपान कक्ष निर्माण गर्ने अभियान नै सञ्चालन गर्दै आएको छ । तर, धादिङका कुनै पनि सेवाप्रदायक कार्यालयमा स्तनपान गराउने छुट्टै कक्ष स्थापना छैन । धेरै मानिस आवतजावत गर्ने स्थानमा त स्तनपान गराउने ठाउँ छैन नै अस्पतालमै पनि स्तनपान गराउने व्यवस्थित कक्ष छैन ।
२ वर्ष अघि धादिङ अस्पतालले स्थापना गरेको स्तनपान कक्ष पनि अहिले स्टोर रुम जस्तो छ । कोरोना महामारीदेखि अव्यवस्थित बनेको सानो स्तनपात कक्ष विहिबारमात्रै सरसफाइ गरेर मान्छे पस्न मिल्ने पारेका छन् ।
अन्य कार्यालयको अनुगमन गर्नुपर्ने स्वास्थ्य कार्यालयले समेत अहिलेसम्म स्तनपान गराउने कक्ष स्थापना गरेको छैन । कार्यालयमा स्तनपान गराउने कर्मचारी नभएकोले स्थापना नगरिएको बताउँछन् । स्वास्थ्य कार्यालयकै तथ्याङ्कमा पनि जिल्लाभित्रका सेवाप्रदायक सरकारी होस् या नीजि कुनै कार्यालयमा पनि यस्ता कक्ष स्थापना गरिएका छैनन् ।
परिवार कल्याण महाशाखाको सन २०१६ को तथ्याङ्क अनुसार नेपालमा ५५ प्रतिशत शिशुलाई जन्मेको एक घण्टाभित्रै स्तनपान गराइन्छ । सन २०१९ को सर्वेक्षण अनुसार नेपालमा ४२ प्रतिशत शिशुलाई मात्रै छ । धादिङको तथ्याङ्क हेर्ने हो भने त उराठलाग्दो नै छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार धादिङमा बच्चा जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ५ प्रतिशत मात्रै छ ।
कामकाजी आमालाई झनै समस्या
धादिङबेसीस्थित बैकमा कार्यरत सम्झना बस्नेतको ६ महिनाको छोरी छ । सुत्केरी बिदा सकेर उनी आजभोलि नियमित कार्यालय जान्छिन् । कार्यालय जान थालेदेखि उनले बच्चालाई नियमित स्तनपान गराउन पाएकी छैनन् ।
‘तीन महिना घरमै बस्न पाएकाले नियमित दूध खुवाउँथे, अब जागिर गर्नुप¥यो, आजभोलि नियमित दूध खुवाउन पाउँदिन’, उनले भनिन् । कार्यालयमै बच्चा लैजाने वातावरण छैन । स्तनपान कक्ष पनि छैन । ‘अहिले त झनै कोरोना सङ्क्रमणको डर छ, त्यसैले घरमै छोडेर आउछु, घरमा बसेकाहरुले जाउलो भैसीको दुध खुवाएर राख्नुहुन्छ’ उनले समस्या सुनाइन् ।
स्तनपान कक्ष नहुँदा कर्मचारी तथा सेवाग्राही सबैले असहज हुन्छ । कार्यालय नजिक घर भएकाहरु हस्याङफस्याङ गर्दै बीचमा घरमै पुगेर बच्चालाई दुध खुवाउँछन् । टाढा घर भएकाले दिनभरि नै बच्चालाई दूध खुवाउन पाँउदैनन् । ‘कार्यालयहरुमा स्तनपान कक्ष तथा शिशु स्याहार कक्ष नहँुदा शिशुहरूले आमाको दूधबाट वञ्चित हुनुपरेको छ’ ज्वालामुखी–५, की कर्मचारी फुलमाया आले अनुभव सुनाउछिन् ।
स्तनपानको महत्व बुझाउन साउन १७ गतेदेखि जिल्लाभित्र विभिन्न कार्यक्रम पनि भइरहेका छन् । शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न स्थानीय सरकारले पनि जनचेतनामूलक कार्यक्रम गरेका छन् । तर, यस्ता गतिविधि बजेट र कार्यक्रममा मात्रै सिमित बनेको छ ।
केही स्थानीय तहले स्तनपान कक्ष र काउन्सिलिङ कक्षको लागि यो वर्ष नीति तथा कार्यक्रममा समेटेर लगेका छन् । थाक्रे गाउँपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेती भन्छिन्,‘तत्काल गरिहाल्नुपर्ने अरु धेरै कामले गर्दा यो काम पछि परेको छ, यो वर्षको नीति तथा कार्यक्रममा नै समेटेर लगेका छौं ।’
स्तनपानको महत्व के ?
सुत्केरी हुनेबित्तिकै आउने आमाको पहेँलो बिगौती दूध निकै पोसिलो र स्वस्थकर मानिन्छ । स्तनपान आमा र बच्चा दुवैका लागि अतिआवश्यक हुन्छ । स्तनपानले बच्चा र आमा दुवैको स्वास्थ्य सुधार गर्छ । चिकित्सकका अनुसार बच्चालाई नियमित स्तनपान गराउँदा बच्चा स्वस्थ हुनाका साथै विभिन्न रोगबाट लड्ने क्षमता प्राप्त हुन्छ ।
आमाको पहिलो दुधले बच्चालाई रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता प्रदान गर्ने र बच्चा जन्मिने बित्तिकै दुध खुवाउन सुरु गरेमा यसले पछिसम्म स्तनबाट धेरै दुध निकाल्न मद्दत गर्ने भएकोले पनि स्तनपान आमा र बच्चा दुबैको लागि महत्वपूर्ण रहेको स्वास्थ्य कार्यालय धादिङका प्रजनन स्वास्थ्य कार्यक्रमका फोकल पर्सन अम्बिका पाण्डे बताउँछिन् ।
‘पहिलो ६ महिनासम्म बच्चालाई आमाको दुध बाहेक पानी र अरु खनेकुरा आवस्यक पर्दैन’ पाण्डेले भनिन्, ‘बच्चालाई अरु कुनै झोल कुराहरु खुवाउनाले बच्चाले दुध चुस्न कम गर्छ र स्तनबाट पनि दुध कम निस्कन्छ, ६ महिनाभित्रका बच्चालाई अन्य खनेकुरा खुवाउदा झाडा पखाला लाग्ने र बिरामी हुने सम्भावना हुन्छ ।’
स्तनपान कक्ष स्थापना ऐनमै सीमित
स्तनपानलाई बच्चा र आमा दुवैको अधिकार मानेर ऐन, नीति र रणनीतिहरू पनि बनेका छन् । जसमध्ये आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली, २०५१ बनेको छ ।
सार्वजनिक सेवा प्रदायक कार्यालयमा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने ऐनमा उल्लेख छ । जिल्लाभित्रका एक÷दुई वटा स्वास्थ्य सस्थाले जसोतसो व्यवस्थापन गरेका बाहेक स्थानीय तहकै कार्यालयले पनि स्तनपान तथा शिशु स्याहार कक्षको व्यवस्थापनतर्फ ध्यान दिएका छैनन् । स्तनपान नवजात शिशुको अधिकार र आमाको कर्तब्य भए पनि व्यवस्थित कक्ष निर्माण नहुँदा महिलाहरूले खुल्ला स्थानमा असहज रूपमा स्तनपान गराउनु पर्ने बाध्यता छ ।