Fri. Nov 29th, 2024

एमाले विभाजनको असर : धादिङमा डरलाग्दो धाँजा

शंकर श्रेष्ठ
धादिङ
– नेकपा एमाले बिभाजनको असर धादिङमा पनि देखिएको छ । केन्द्रमा अध्यक्ष केपी ओली र नेता माधव कुमार नेपाल दुई धारमा देखिएपछि जिल्लाभित्र पनि कुन पक्ष कुन तहमा बलियो भनेर आँकलन समेत गर्न थालिएको छ ।

दुवै समूहले आफू बलियो भन्ने दाबी गरिरहेका छन् । नेपाल समूहका नेता गुरु प्रसाद बुर्लाकोटी भन्छन्,‘स्थानीय तहमा को कता छ सँग अर्थ राख्दैन, कार्यकर्ताको संख्या हेर्ने हो, इमान्दार कार्यकर्ता हाम्रो छ ।’ उरन्ठेउला मान्छेहरु मात्रै ओलीको पछि लागेको उनी बताउँछन् । ‘समग्र कार्यकर्ताको पङ्ती ओलीको पक्षमा छैन’, बुर्लाकोटीले भने ।

ओली पक्षका नेताहरु पनि जिल्लाभित्र आफ्नै मत बलियो रहेको दावी गर्छन् । निर्वाचित जनप्रतिनिधिहरु धेरैजसो आफ्नो पक्षमा रहेको आधारले पनि कार्यकर्ताको मत आफुतिर रहेको ओली पक्षका नेता भुमी त्रिपाठी बताउँछन् । ‘भयभरका युवापुस्ता हामीसँग छ, एमाले भनेको हामी हो, माधव नेपालको एउटा समूह मात्रै हो’ त्रिपाठी भन्छन् ।

ओली र नेपाल पक्षबीच सामाजिक संजालमै कटाक्ष पर्ने गरेको छ । यद्यपी माधव नेपाल पक्षका नेताहरुले भने पार्टी एकता हुनुपर्नेमा जोड दिइरहेका छन् । ओली पक्षका नेताहरुले भने नेपाल समूहले आफ्नै पार्टीका सरकार ढाल्न सहयोग गरेकाले एमालेमा रहन नसक्ने बताइरहेका छन् ।

धादिङ जिल्लाबाट प्रतिनिधित्व गर्ने राजेन्द्र पाण्डे, गुरु बुर्लाकोटी माधव नेपाल पक्षतिर छन् । जिल्ला अध्यक्ष भुमी त्रिपाठी ओली पक्षतिर छन् । जिल्ला सचिव शिव कँडेल र सहसचिव शम्भुकुमार थापासहित कमिटिका ६० प्रतिशत नेपाल समूहमा देखिएका छन् ।

पछिल्लो समयसम्म नखुलेका पूर्व संविधान सभा सदस्य धनबहादुर घले पछिल्लो समय ओलीतिर ढल्केका छन् । प्रतिनिधिसभा सदस्य खेम लोहनी र जिल्ला अध्यक्ष समेत रहेका त्रिपाठी पनि ओलीकै पक्षमै छन् । उनीहरु विभाजन पहिले पनि ओलीकै मान्छे भनेर चिनिन्थिे । प्रदेशसभा सदस्य डा. रामकुमार अधिकारी र स्थायी कमिटि सदस्य पुष्प कँडेल ओलीकै पत्रछायामा छन् ।

पूर्व संविधान सभा सदस्य घले र प्रदेशसभा सदस्य अधिकारी नेपाल पक्षले जिल्लामा समानान्तर कमिटि बनाएपछि ओलीतिर देखिएका हुन् । प्रदेश सांसद अघिकारी बागमति प्रदेश सरकारको राज्यमन्त्री पाउने भएपछि ओलीतिर लागेका हुन् । सुरुदेखि नै नेपाल समूहमा देखिएका घले पार्टीको महत्वपूर्ण जिम्मेवारी पाउने आश्वासनपछि ओलीतिर लागेको बुझिन्छ ।

पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डे र गंगा तुलाधर नेपाल पक्षमा खुलेर लागिरहेका छन् । जिल्लामा नेकपा एमाले विस्तार गर्ने मध्यका पाण्डे र बुर्लाकोटी नेपाल पक्षमा उभिइरहँदा पाण्डे र बुर्लाकोटीसँगै एमाले विस्तारमा लागेका जगन्नाथ नेपाल ओलीको पक्षमा छन् । सोही बेलाका नेता ढंक तिमिल्सिना भने राजनीतिक सरगर्मीमा देखिएका छैनन् ।

स्थानीयस्तरमा संगठन निर्माण गरेका केन्द्रदेखि जिल्ला तहका नेता माधव नेपाल पक्षमा लाग्दा धादिङमा ओली पक्ष कमजोर देखिएको छ । किनभने संगठन गरेका र जनाधार पकड भएका नेताहरू माधव नेपाल पक्षमा बढी छन् । धादिङमा पार्टी स्थापना देखि विभिन्न मोर्चामा काम गर्दै आएका पुराना नेता तथा कार्यकर्ताहरु भने नेपाल पक्षमा नै रहेको देखिएको छ । पछिल्लो समय राजनीतिमा देखिएका युवा पुस्ता भने ओलीको पक्षमा देखिन्छ ।

जनप्रतिनिधिहरु को कताकता ?
जन्रतिनिधिहरु पनि आ–आफ्नै लाइनमा उभिएका छन् । निर्वाचित जनप्रतिनिधिहरुमा ओली पक्षका बलियो देखिन्छ । धादिङमा नेकपा एमालेका उम्मेदवारले अध्यक्ष जितेको ८ ओटा स्थानीय तह मध्य ३ ओटामा नेपालको पक्षमा छन् । बाँकी ५ ओटाका अध्यक्ष ओलीको पक्षमा देखिएका छन् ।

नेत्रावती गाउँपालिकाका अध्यक्ष दुर्गाकुमार शाक्य, गजुरी गाउँपालिकाका अध्यक्ष अध्यक्ष राजेन्द्र विक्रम बस्नेत ओलीको पक्षमा ओकालत गर्छन् । थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य र उपाध्यक्ष अम्बिका रुपाखेती पहिलेदेखि नै ओलीको पक्षमा छन् । सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल र उपाध्यक्ष कमला शर्मा पनि ओलीकै लाइनमा छन् । ज्वालामुखी गाउँपालिका उपाध्यक्ष जानुका सिंखडा, गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा लामिछाने पनि ओलीकै पक्षमा छन् । गंगाजमुना अध्यक्ष बलबहादुर अधिकारी र उपाध्यक्ष एञ्जिला तामाङ आफुहरु कुनै पक्ष विपक्षमा नरहेको भन्दै आएपनि ओलीकै पक्षकै लाइनमा छन् ।

धुनिवेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य र उपप्रमुख निरु खरेल दुबैजना नेपाल पक्षमा उभिएका छन् । गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापा र गजुरी गाउँपालिकाका उपाध्यक्ष सीता ढुंगाना नेपाल पक्षमा खुलेरै लागेका छन् ।

नेकपा एमालेबाटै निर्वाचित भएका जनप्रतिनिधिहरु दुई समूहमा बाडिदा विकास निर्माणमा नकात्मक असर देखिन थालेको छ । एमाले दुई समूहमा विभाजित भएर समानान्तर गतिविधि गरिरहेपनि मतदाता तहमा भने पार्टी एक भएरै अघि बढ्नुपर्ने चाहना छ ।

About The Author

अन्य समाचारहरु: