काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। आइतबार प्रतिनिधि सभासमक्ष उनले राखेको विश्वासको प्रस्तावमाथि मतदान हुँदा उनले बहुमत प्राप्त गरेका हुन्।
प्रधानमन्त्री देउवाले १६५ मत प्राप्त गरेका छन्। उनको विपक्षमा ८३ मत परेको छ। जम्मा २४९ सांसदले मत विभाजनमा भाग लिएका थिए। यसमध्ये १ मत तटस्थमा परेको थियो।
देउवालाई कांग्रेसका अतिरिक्त माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चाका सांसद्हरुले मत दिए । त्यस्तै, देउवालाई एमालेको माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षका केही सांसद्ले पनि सघाए ।
देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए। संविधानमा धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले तीस दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार उनले विश्वासको मत लिएका हुन्।
देउवाले प्रधानमन्त्रीका रुपमा विश्वासको मत पाएसँगै २–२ पटक विघटनको मार खेपेको प्रतिनिधि सभा अब पूर्ण कार्यकाल चल्न पाउने भएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यराति विघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले २८ असार २०७८ मा पुनःस्थापना गर्ने फैसला सुनाएको थियो।
सर्वोच्चको आदेशपछि देउवा गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले अब प्रतिनिधि सभाको यो कार्यकालभर सरकार चलाउनेछन्।